काठमाडौं । सरकार परिवर्तनपछि पहिलो पटक प्रतिनिधि सभाको बैठक बसेको छ ।
सरकार परिवर्तनपछि पहिलो पटक बसेको बैठकमा संसद्को दृश्य केही फरक देखिएका छन् । लामो समयपछि नेकपा (माओवादी केन्द्र) प्रतिपक्षको बेन्चमा बसेको छ ।
माओवादी केन्द्रसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालगायतका दल प्रतिपक्षीको बेन्चमा बसेका छन् ।
फेरिएको सत्ता गठबन्धनसँगै नेपाली कांग्रेस र नेकपा (एमाले)सँगै जसपा, मधेसवादी दलहरू जसपा नेपाल, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी सत्ता पक्षको बेन्चमा बसेका छन् ।
नेपाली कांग्रेस र नेकपा (एमाले)का बिच असार १७ मा नयाँ सरकार बनाउने सहमति भएको थियो । सोही सहमतिअनुसार एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले आज नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।