काठमाडौं । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १२ बगरस्थित तातोपानी झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन जना बालबालिका पुरिएका छन् । घटनामा एक जना बेपत्ता भएका छन् ।
आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार आठ वर्षीय हितमाया पुन, पाँच वर्षीया धनिसा पुन, चार वर्षीया मनिसा सार्की पुरिएका हुन् । बेपत्ता हुनेमा ४० वर्षीया डिल्लीबहादुर बुढाथोकी रहेका छन् ।
उनले बाढीले घर बगाउँदा १० वर्षीया विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, चार वर्षीया मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पाना कामी घाइते भएका बताए ।
“खोलामा लेदो माटोमा पुरिएका बालबालिकालाई निकाल्न सकिएको छैन,” नगरप्रमुख केसीले भने, “घाइतेलाई आठबीसकोट नगर अस्पताल राडीमा ल्याउने काम जारी छ, उद्धारका लागि प्रहरी र स्थानीयवासी जुटिसकेका छन् ।”