काठमाडाैं । नेपाली फिल्म क्षेत्रमा पृथ्वीराजको नामबाट चिनिएका उनको वास्तविक नाम भने तारानाथ प्रसाईं हो । उनै पृथ्वीले नेपाली कथानक फिल्म किस्मत-२ मार्फत रजतपटमा प्रवेश गरेका हुन् ।
त्यस यता ‘हतकडी’, ‘सपना’, ‘चोखो प्रेम’, ‘अन्तरे’, ‘ब्ल्याक एण्ड ह्वाइट’, ‘वीराङ्गना’, ‘मंगलम’, ‘डोली’, ‘कान्छी हे कान्छी’, ‘चमेली’, ‘गोर्खाली छोरो’ लगायत फिल्ममा काम गरेका उनले सन् २०१८ मा प्रदर्शन भएको ‘डोली’पछि कुनै फिल्ममा देखिएएका छैनन् ।
५ वर्षपछि पृथ्वीराजले फिल्म ‘ईश्वर’बाट कमब्याक गरेका छन्, जुन यही साउन ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । निर्देशक राजु गिरी निर्देशित यो फिल्ममा उनी ‘सागर’ पात्रको भूमिकामा छन् ।
फिल्ममा आफ्नो पात्रलाई लभर ब्वाई रहेको बताउँदै पृथ्वीराज भन्छन्, ‘सागर एक लभर ब्वाई हुन्छ, उसको बुवा नेगेटिभ क्यारेक्टरको भएकाले सुरुमा सागर पनि नेगेटिभ नै हुन्छ, तर पछि गएर ऊ पोजेटिभ क्यारेक्टरमा देखिन्छ ।’
‘फिल्म ईश्वर पारिवारिक कथामा रहेको र उक्त पात्रमा काम गर्दा आफूलाई ‘ठीकै’ अनुभव भएको पृथ्वीराजको बुझाई छ । ‘म सहरमा बसेर गाउँ फर्किएको युवकको भूमिकामा छु । गाउँमै रहँदा नायिका अनु शाहसँग मेरो प्रेम हुन्छ,’ उनी भन्छन् ‘ईश्वर’मा ‘यसअघिका फिल्ममा जति मेहनत गर्नु परेको थियो, यो फिल्ममा त्यति धेरै मेहनत गर्नु परेन ।’
पृथ्वीराजले ‘ईश्वर’मा निर्वाह गरेको चरित्र यसअघि उनले अभिनय गरेका फिल्ममा निभाएका थिएनन् । ‘यो क्यारेक्टर यसभन्दा अघि मैले फिल्ममा गरेको थिइनँ । क्यारेक्टरको लागि तयारी केही गरिएन । घरमै थिएँ । निर्देशक राजु गिरीले फोन गर्नुभयो । स्क्रिप्ट पढें अनि सिधै फ्लोरमा गएर काम सुरु गरें’, पृथ्वीराज भन्छन् ।
एक दर्जनभन्दा बढी फिल्म र पाँच दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेका छन् । पृथ्वीराजले अनु शाहसँग केही भिडियोमा सहकार्य गरेका छन् । तर फिल्ममा चाहिँ ‘ईश्वर’ पहिलो हो । उनी सुनाउँछन्, ‘भिडियोमा अनुसँग सहकार्य गरेकाले पनि यो फिल्ममा काम गर्दा अप्ठ्यारो भएन । हामीले सहजै आफ्नो काम पुरा गर्यौं ।’
फिल्म ‘डोली’ पछि आफूलाई कुनै फिल्मबाट अफर नआएको बताउँदै उनी भन्छन्, ‘म काम माग्न कतै पनि गइनँ, आफ्नै व्यावसायिक काममा व्यस्त थिएँ । घर, व्यवसाय र जिममै समय बिताएँ । तर अफर आयो भने चाहिँ फिल्ममा काम गर्छु भन्ने सोच थियो ।’
‘किस्मत २ मा एक्सन, मंगलममा फ्यामिली ड्रामा र वीरंगनामा एक्सन भूमिका गरेका पृथ्वीराज अब कमेडी जनराको फिल्ममा काम गर्ने इच्छा रहेको बताउँछन् ।