वृद्धहरूकै आलोपालोमा सत्ता-Sutra News

वृद्धहरूकै आलोपालोमा सत्ता

मंगलबार, १ साउन २०८१

मंगलबार, १ साउन २०८१

काठमाडौं । विद्यमान निजामती सेवा ऐन, २०४९ अनुसार कर्मचारीको सेवा उमेर हद ५८ वर्ष छ । ५८ वर्ष पुगेपछि कर्मचारीले अनिवार्य अवकाश लिनुपर्छ । मुलुकमा सबैभन्दा धेरै वर्षसम्म सेवामा रहन पाउने क्षेत्र न्यायालय हो । जहाँ न्यायाधीशहरूको उमेर हद पनि ६५ वर्षसम्म मात्रैको छ ।



सरकार आफैँले यो उमेर हद तोक्नुको पछि व्यक्तिको उत्पादकत्वमा कमी आउने तर्क गरिएको छ । ६० वर्ष पार भएपछि व्यक्तिको उत्पादकत्व कमी आउने र सेवाको जिम्मेवारी घाटाकर हुने आशय सरकारको देखिन्छ ।

सरकारले एकातर्फ ५८ वर्ष उमेर पुगेकालाई अनिवार्य अवकाश दिएर पठाउँछ भने अर्कोतर्फ ६८ वर्ष उमेर पुगेका नागरिकलाई आश्रित उमेर समूहको बुझाइसहित विशेष सामाजिक सुरक्षाअन्तर्गत ज्येष्ठ नागरिक भत्ता उपलब्ध गराउँछ । ६८ वर्षभन्दा माथि उमेरका नागरिकले आफैँ उत्पादन गरेर खान सक्दैनन् भन्ने बुझाई सरकारको देखिन्छ ।

यद्यपि, कर्मचारीमा उमेर हद लगाउने राज्यमा कार्यकारी नेतृत्व गर्ने नेताहरू भने सबैजसो वृद्धहरू नै छन् । व्यवस्था परिवर्तनपछिको १६ वर्षको समयावधिमा पनि नेतृत्वमा आउने अधिकांश नेताहरु वृद्धहरू नै भए ।

अहिले प्रधानमन्त्रीमा नियुक्त नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ७३ वर्षमा चल्दैछन् । २००८ सालमा जन्मिएका ओली शारीरिकरुपमा निकै अस्वस्थ प्रकृतिका पनि छन् ।

बेला–बेला अन्यको सहयोग लिनुपर्ने परिस्थितिमा समेत देखिने गरेका ओली मुलुकको नेतृत्व लिन भने सधैँ अगाडि नै सर्दछन् । सुखद माने पनि दुःखद माने पनि, अबको केही अवधिका लागि वृद्ध ओलीकै बाहुबलीमा देश पुगेको छ ।

बृद्धहरु बीच पटके रेकर्ड

अनौठो विषय, सत्तामा वृद्धहरूकै बोलाबोला मात्रै छैन, नेतृत्वका लागि पनि अनौठो शैलीमा पटके प्रतिस्पर्धा चलिरहेको छ । अहिले प्रधानमन्त्री बनेका वृद्ध नेता ओलीको पनि यो पहिलो कार्यकाल होइन ।

उनी यसअघि २०७२, २०७४, २०७८ मा पनि प्रधानमन्त्री भइसकेका थिए । पछिल्लो नियुक्तिसँगै सबैभन्दा बढी (चौथो पटक) प्रधानमन्त्री हुनेमध्येमा उनको नाम पनि सूचीकृत भएको छ ।

यद्यपि, यो उनको अन्तिम कार्यकाल भने नहुन सक्छ । ओलीले अझै २० वर्ष आफू सक्रिय हुने बताइरहेका छन् ।

एमालेभित्र बलियो पकड बनाएका वृद्ध नेता ओली पाँचौँ र छैंठाैँ पटक प्रधानमन्त्री बनेमा अनौठो मान्नुपर्ने छैन ।

यद्यपि, ओलीभन्दा जीवित रहेकामध्ये काँग्रेस सभापति शेरबहादुर देउवाले धेरै पटक प्रधानमन्त्री बनेर रेकर्ड बनाएका छन् । देउवा पाँच पटकसम्म प्रधानमन्त्री बनिसकेका छन् ।

नेपाली काँग्रेस र नेकपा (एमाले)बिच भएको पछिल्लो सहमतिअनुसार अबको दुई वर्षपछि पनि देउवा पुनः प्रधानमन्त्री बन्नेछन् । यदि सहमति पालना भएमा देउवाले धेरै पटक (छ पटक) प्रधानमन्त्री बन्नेको रेकर्ड राख्नेछन् ।

पहिलो पटक २०५२ मा प्रधानमन्त्री बनेका देउवा, २०५८, २०६१, २०७४ र २०७८ मा गरी पाँचौँ पटक प्रधानमन्त्री बने । २००३ सालका वयोवृद्ध देउवा छैंठो पटक प्रधानमन्त्री बनेर रेकर्ड राख्ने तयारीमा छन् ।

विश्वासको मत नपाएसँगै प्रधानमन्त्रीबाट पदमुक्त पुष्पकमल दाहाल ‘प्रचण्ड’को पनि यो पहिलो कार्यकाल थिएन । ७० वर्षीय प्रचण्ड २०६५, २०७३ मा यसअघि प्रधानमन्त्री बनिसकेका थिए । २०७९ उनको तेस्रो नियुक्ति थियो ।

यद्यपि, प्रचण्ड चौथो पटक प्रधानमन्त्री बनेका आश्चर्य मान्नुपर्ने छैन । किनकि संसदभित्रको गणित र सत्तामा हुने किचलोले ‘जादुयी’ नम्बरका प्रचण्डलाई अघि सार्दैन भन्न सकिन्न ।

अर्कोतर्फ, अन्य दलले अवसर पाएमा पनि नेतृत्वमा रहेका पात्रहरू वृद्ध नै छन् । अर्को दलले पाउने अवसर पनि वृद्धकै हातमा जाने निश्चित देखिन्छ ।

अधिकांश पार्टीका नेतृत्वकर्ता नै वृद्ध

निर्वाचन आयोगको असार १२ सम्मको अद्यावधिक विवरणलाई हेर्दा, आयोगमा दर्ता भएर क्रियाशील दलको संख्या ११९ छ । जसमध्ये संसदमा १४ दलले प्रतिनिधित्व गर्दछन् । संसदमा प्रतिनिधित्व गर्ने १४ दलमध्ये अधिकांश दलका नेतृत्वकर्ता वृद्ध भत्ता बुझ्ने उमेर समूहका छन् । जसमध्ये केही ८० वर्षसमेत पार गरेका छन् ।

संसदका तीन ठुला दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेतृत्वकर्ता ७० पार गरिसकेका छन् । काँग्रेस सभापति देउवा ७८ वर्षका भए भने एमाले अध्यक्ष ओली ७३ वर्षका भए । यस्तै, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि ७० वर्षका भए ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव ६५ वर्षका भए भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर ८२ वर्षका भए । यस्तै, एकीकृत समाजवादीका माधवकुमार नेपाल ७२ वर्षका भए भने जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राई ६७ वर्षका भए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ८५ वर्षका भए भने नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ८५ वर्षका भए ।

संसदमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत र आम जनता पार्टीका अध्यक्ष प्रभु शाह भने ६० वर्षभन्दा मुनिका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट