उपेन्द्रका दुःख : हतार–हतार समर्थन तर, पाएनन् भाग-Sutra News

उपेन्द्रका दुःख : हतार–हतार समर्थन तर, पाएनन् भाग

मंगलबार, १ साउन २०८१

मंगलबार, १ साउन २०८१

काठमाडौं । असार १७ मा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ गठबन्धन बनाउने सहमति हुँदै गर्दा उत्साहित भएर स्वागत गर्नेमा जनता समाजवादी पार्टी (जसपा) नेपाल पनि थियो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नयाँ गठबन्धनले माग गरे सहयोग गर्ने बताएका थिए ।



नयाँ गठबन्धन बन्दा उत्साहित यादव, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा भने सहभागि हुन पाएनन् । यादवले नयाँ सरकारमा सहभागि हुन खोजेका थिए ।

यद्यपि, ओलीले यादव नेतृत्वको जसपा नेपालको ठाउँमा अशोक राई नेतृत्वको जसपा रोजे । राई नेतृत्वको जसपाबाट प्रदीप यादव र नवलकिशोर साह मन्त्री बनेका छन् । सँगै ओलीले लोसपालाई पनि भाग दिएका छन् । लोसपाबाट शरदसिंह भण्डारी ओली सरकारमा श्रममन्त्रीको जिम्मेवारी पाएका छन् ।

एकातिर मधेशको सत्ताको नेतृत्वबाट उपेन्द्र पाखा परेका छन् भने अर्कोतिर केन्द्र सत्ताबाट पनि पाखा पारिएका छन् । यादवको निम्ति बिडम्बना नै मान्नुपर्छ, हतार–हतारको समर्थन खेर गएको छ ।

यद्यपि, यादव आफूहरुको प्राथमिकतामा सरकारमा जाने नरहेको भन्दै प्रश्नहरु टार्न बाध्य देखिन्छन् । “यसअघि नै सरकारमा सहभागि नै नहुने निर्णय गरेका थियौं, सोहीअनुसार गएनौं तर, बाहिर रहेरै समर्थन जनाएका छौं”, प्रश्नबारे यादवले भनेका छन् ।

यद्यपि, एमालेका नेताहरु यादव नेतृत्वको जसपा नेपाललाई सरकारमा सहभागि गराउने विषयमा छलफल नै नभएको बताउँछन् । एमालेका नेताहरुअनुसार अब सहभागि गराउने सम्भावना पनि छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट