काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारका फिल्मले पछिल्लो समयमा बक्स अफिसमा सफलता पाउन सकेका छैनन् । अहिले रिलिज भएको फिल्म ‘सरफिरा’ बक्स अफिसमा असफल भएपछि अक्षयको समस्या बढेको छ ।
हरेक वर्ष कम्तीमा चार फिल्म रिलिज गर्ने अक्षय कुमारका पछिल्ला फिल्म लगातार असफल भएको समयमा ‘सरफिरा’ बाट उनले विशेष आशा राखेका थिए । तर यो फिल्मले पनि दर्शकको मन जित्न नसकेपछि उनी निराश भएका छन् ।
‘सरफिरा’ को पहिलो दिन कमाई नै निकै निराशाजनक रहेको थियो । साताको अन्त्यमा फिल्मको कमाइमा केही सुधार भए पनि पहिलो सोमबारको कमाइमा उल्लेख्य गिरावट आएको छ । फिल्मले आइतबार ५.१ करोड कमाएको थियो । चौथो दिन सरफिराले १.४० करोड कमाएको थियो । योसँगै फिल्मले अहिलेसम्म १३.४० करोडको व्यापार गरेको छ ।
८० करोडको लगानीमा बनेको यो फिल्मले अब बक्स अफिसमा जादु देखाउने सम्भावना देखिएको छैन ।
यस अघि उनको अप्रिलमा रिलिज भएको ‘बडे मिया छोटे मियाँ’ले केवल ५९ करोड कमाएको थियो र फ्लप भएको थियो भने त्यसअघि गत अक्टोबरमा ‘मिसन रानीगंज’ले ३३ करोड कमाएको थियो र बक्स अफिसमा असफल भएको थियो । ‘सरफिरा’सँगै उनका लगातार तेस्रो फिल्म बक्स अफिसमा फ्लप भएका छन् ।
उनको फिल्म २०२३ को अगस्तमा ‘ओएमजी- २’ ले १५० करोड कमाई गरेको थियो र बक्स अफिसमा सुपर हिट भएको थियो । त्यसअघि रिलिज भएका ‘सेल्फी’, ‘रक्षा बन्धन’, ‘सम्राट पृथ्वीराज’ र ‘बच्चन पाण्डे’ फ्लप भएका थिए ।
सुधा कोंग्रा प्रसादले निर्देशन गरेको ‘सरफिरा’मा अक्षय कुमार बाहेक राधिका मदन, परेश रावल, सीमा विश्वासलगायतको अभिनय रहेको छ ।