काठमाडौं । आगामी असोज ३ गतेबाट रिलिज हुने फिल्म ‘खुस्मा’को पहिलो गीत सार्वजनिक गरिएको छ । मंगलबार ‘खुशीका फूल बटुलेर’ बोलको गीत सार्वजनिक गरिएको हो ।
धिरज मगर तथा उपसना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्मको ‘खुशीका पल बटुलेर’ बोलको यो गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, एसडी योगीकै संगीत, राव अविरल विष्टको शब्द रहेको छ ।
पूर्वी रुकुमका सुन्दर दृश्यहरु रहेको प्रेमिल गीतको भिडियोमा धिरज र उपसनाको मिठासपूर्ण प्रेमाभाव देख्न सकिन्छ । यो फिल्ममा उनीहरुले पहिलो पटक जोडी बाँधेका छन् । सार्वजनिक गीतको भिडियोलाई सुरेन्द्र राईले कोरियोग्राफी गरेका हुन् ।
केही डकुमेन्ट्री फिल्म लेखन, निर्देशन गरेका अशोक थापामगर फिल्मका लेखक तथा निर्देशक हुन्। उनको ‘खुस्मा’ ठुलो पर्दाको डेब्यू फिल्म हो । डकुमेन्ट्री फिल्मबाट निर्देशक थापाले करिब नौ वटा विभिन्न अर्न्तराष्ट्रिय फिल्म महोत्सवबाट अवार्ड प्राप्त गरिसकेका छन् ।
मगर समुदायको परिवेश र प्रेमकथामा आधारित फिल्ममा जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेम देखाएको निर्माण पक्षको भनाइ छ ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा धिरज र उपासनाका अलावा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्मका निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर हुन् । फिल्मको सह-निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्।
मोहन राई कार्यकारी निर्माता रहेको फिल्ममा दिपक बज्राचार्यको छायांकन रहेको छ ।
फिल्ममा एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ ।
गोविन्द शाहीको काफिया फिल्मस्ले फिल्मको वितरण गर्ने जिम्मा लिएको छ ।