काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘घरज्वाइँ’ सोमबार छैटौँ दिनमा प्रदर्शनरत छ । अनिल बुढा मगर निर्देशित यो फिल्मले पाँचौँ दिनमा पनि बक्सअफिसमा उत्साहजनक रूपमा व्यापार गरिरहेको छ ।
फिल्मले पहिलो सप्ताहन्तमा १ करोड ५१ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको बक्सअफिस रिपोर्ट निर्माण पक्षले सार्वजनिक गरेको थियो । सुरुवाती चरणमै बक्सअफिसमा उत्कृष्ट व्यापार सुरु गरेको फिल्मले पाँचौँ दिनसम्म पनि निरन्तरता दिएको छ ।
हिट जोडी दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको ‘घरज्वाइँ’ हेरेका दर्शकबाट मिलेको उत्कृष्ट वर्डअफ माउथका कारण मनसुन यामको बाबजुद पनि फिल्मले बक्सअफिसमा सुखद प्रदर्शन गर्न सफल भएको हो ।
वितरक रोहित कट्टेलले देशभर उच्च शो र उच्च अकुपेन्सीसहित फिल्म चलिरहेको जानकारी दिएका छन् । उनले समाजिक सञ्जाल फेसबुकमा हाउफुल भएका शोका तस्बिर सार्वजनिक गर्दै धेरै हलमा पाँचौँ दिन पनि हाउसफुल भएको बताएका छन् ।
निर्देशक बुढा मगर भन्छन्, ‘आज पाँचौँ दिन पनि घरज्वाइँ फिल्मले देशभरी ब्यापक माया पाएको छ, पाँचौँ दिनको भब्य खुसी बाँड्ने मौका दिनुभयो, तपाईंहरूको मायालाई सीरमा राख्दै हाम्रो घरज्वाइँ टिम निकै आभारी छ ।’
निर्माता जनक घर्ती मगरले पहिलो दिनदेखि हालसम्म दर्शकको उत्तिकै साथ मिलेको बताएका छन् । शुक्रबार र शनिबार इनिसियल व्यापार राम्रो गरेको फिल्मलाई दर्शकबाट वर्डअफ माउथ राम्रो पाएको जनकले बताएका छन् । वर्डअफ माउथकै कारण पाँचौँ दिन पनि हाउफुलका साथ फिल्म चलेको उनको भनाइ छ ।
जीएम मुभिज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको मगर समुदायमा वर्षौंदेखि प्रचलित घरज्वाइँ संस्कृतिको कथामा आधारित भएर बनेकाले यो फिल्ममा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, कविता आले, शिला आले, खड्कबहादुर पुन (खबपु), राज थापा, अनु थापा, विना थापामगर, सोनाम लामा, सुनिल मगर लगायतको पनि अभिनय छ ।
पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् । फिल्मको कथा निर्देशक अनिल आफैँले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् । यो फिल्ममा हर्क साउद र मनोज थापाको संगीत, र कृष्ण भन्डारीको सम्पादन रहेको छ।