सिमलताल दुर्घटनाका १८ जनाको शव भेटियो, नौ जनाको मात्रै सनाखत-Sutra News

सिमलताल दुर्घटनाका १८ जनाको शव भेटियो, नौ जनाको मात्रै सनाखत

बुधबार, २ साउन २०८१

बुधबार, २ साउन २०८१

काठमाडौं । नारायणगढ-मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएकामध्ये १८ जनाको शव फेला परेको छ ।



चितवन प्रहरीका अनुसार अहिले नारायणी नदी किनारमा शव भेटिने क्रम जारी रहेको छ । अहिलेसम्म शवहरु घटना स्थलभन्दा १०३ किलोमिटर तल गण्डक ब्यारेजसम्म पुगेको पाइएको छ ।

अहिलेसम्म १८ जनाको शव फेला परेकोमा नौ जनाको मात्र सनाखत भएको छ । सनाखत भएका तीन यात्रु भारतीय रहेको र बाँकी ६ जना नेपाली नागरिक रहेको खुलेको छ ।

जसमा त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ । उनीहरु दुवैको शव घटना स्थलभन्दा १०३ किलोमिटर तल गण्डक ब्यारेज पुलमा फेला परेको हो । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार दुई जनाको शवको सनाखत मंगलबार उनीहरुका परिवारले गरेका हुन् ।

त्रिशुलीमा बससँगै बेपत्ता रहेका ४४ यात्रुको अवस्था अज्ञात रहेको छ । दुवै बस अहिलेसम्म भेटिएका छैन । नेपाली सेना, सशस्त्र प्रहरीको गोताखोर टोलीले त्रिशुली नदीमा बस खोज्ने क्रम जारी राखेको छ ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-०११ ख २५९५ नम्बरको गणपति डिलक्स बस गत असार २८ गते बिहान त्रिशूलीमा बेपत्ता भएका थिए । ती बसमा ६५ यात्रु सवार रहेकोमा तीन जनाले ज्यान बचाउन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट