काठमाडौं । मोरङको बेलबारी नगरपालिका ७ का ७० वर्षीय जामुनलाल झाँगडलाई छोरा बुहारीले जंगलमा छाडेर भागेको विषय सार्वजनिक भएको छ ।
पाँच दिनअगाडि छोरा बुहारीले वृद्धलाई मोटरसाइकलमा राखेर बेलबारी चिसाङ साझेदारी जंगलको बिचमा छाडेर भागेका हुन् ।
बेलबारी चिसाङ साझेदारी वनका हेरालु कर्मचारीले मंगलबार बिहान जंगलको बीच भागमा अलपत्र परेका झाँगडलाई उद्दार गरेपछि यो विषय सार्वजनिक भएको हो । मंगलबार बिहान उद्दार गरिएका वृद्धको अहिले बेलबारी नगर अस्पतालमा उपचार भइरहेको वन समितिका अध्यक्ष दिनेश गिरीले जानकारी दिए ।
‘चार दिनअगाडि जंगलमा लगेर छाडिदिएका रहेछन्, वन क्षेत्र निगरानीमा गएका साथीहरूले फेला पारी लिएर आउनु भएछ, हाल उहाँको उपचार भइरहेको छ,’ अध्यक्ष गिरीले भने ।
वृद्धले आफ्नै छोरा बुहारीले मोटरसाइकलमा राखेर जंगलमा लगेर छाडिदिएको जानकारी दिएको अध्यक्ष गिरीले बताए । बेलबारी नगर अस्पतालमा उपचाररत वृद्धको शरीरका विभिन्न भागमा चोट देखिएको र उनी धेरै बोल्न सक्ने अवस्थामा नरहेको बेलबारी नगरपालिकाका स्वास्थ शाखा प्रमुख सन्तोष विश्वकर्माले बताए ।
मोरङको बेलबारी नगरपालिका ७ को डाङ्गी टोलमा बसोबास गर्दै आएका वृद्धका छोराबुहारीको खोजी भइरहेको वडाध्यक्ष सुनिता चौधरीले बताइन् ।