‘समाजवादी मोर्चा’को आड लिएर फेरि उठ्ने प्रयास-Sutra News

‘समाजवादी मोर्चा’को आड लिएर फेरि उठ्ने प्रयास

वामपन्थी विश्लेषक मुकुन्द आचार्य भन्छन्– समाजवादी मोर्चाबाट प्रचण्डको अस्तित्व रक्षा सम्भव छैन

बुधबार, २ साउन २०८१

बुधबार, २ साउन २०८१

काठमाडौं । ‘बार्गेनिङ टुल्स’ कि साँच्चिकैको ‘राजनीतिक शक्ति’ ? समाजवादी मोर्चाबारे उठ्ने गरेको प्रश्न हो यो ।



अहिले मोर्चाबाट बाहिरिएको एउटा घटक जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता मनिष सुमनका अनुसार खासमा मोर्चा सत्ता राजनीतिको बार्गेनिङ टुल्सभन्दा बाहेक केही होइन । तत्कालीन समय प्रधानमन्त्रीको भूमिकामा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसलाई साइजमा राख्न र आफूलाई सत्तामा टिकाउन मोर्चाको प्रयोग गरेको उनको भनाई छ ।

“मलाई लाग्छ समाजवादी मोर्चा, ३२ सिटका प्रचण्डलाई शक्ति देखाउने राम्रो उपाय थियो, उनले त्यसैलाई देखाएर सत्तामा पनि राम्रै बार्गेनिङ गरे”, जसपा नेपालका नेता मनिष सुमन भन्छन्, “खासमा उनको मक्सद त्योभन्दा बाहेक रैनछ ।”

हुन पनि तत्कालीन समय प्रधानमन्त्रीको भूमिकामा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले प्रमुख सत्ता साझेदार नेपाली कांग्रेससँग भागबन्डामा किचलो भएकै बेला २०८० असार ४ मा मोर्चा गठन गरेका थिए । मोर्चाको गठनसँगै ३२ सिटे प्रचण्डसँग कांग्रेसले सहजै नआँक्ने शक्ति प्राप्त भएको थियो ।

माओवादी केन्द्रसँग भएको ३२ सिटका अलावा उनलाई उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको १२ सिट, एकीकृत समाजवादीको १० सिट र संसद बाहिरको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको पनि शक्ति प्राप्त भएको थियो ।

तत्कालीन समय प्रचण्डले मोर्चालाई राम्रैसँग प्रयोग गरेको बुझाई नेता सुमनको छ । “मोर्चा गठनको एक वर्षको अवधिलाई हे¥यौं भने नयाँ कुरा केही देखिन्न, सामान्य एक/दुई वटा निष्कर्ष ननिस्कने बैठक बाहेक केही भएन”, उनी भन्छन्, “साँच्चिकैको मोर्चा थियो भने मोर्चाभित्रै एउटाले अर्कोलाई सिध्याउने खेल हुने थिएन । जुन पटक–पटक दोहोरिरह्यो ।”

उपेन्द्र यादव नेतृत्वको जसपाको विभाजन र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को विभाजनले पनि मोर्चाको कुरूपतालाई देखाउने बुझाई सुमनको छ । हुन पनि मोर्चाकै नेतृत्वमा सरकार रहेकै बखत सत्ताकै दाउपेचमा जसपा विभाजित बनाइएको थियो भने नेसपाको हालत पनि बेग्लै खालको छैन ।

दुवै दल विभाजित बन्दै गर्दा प्रचण्डले सिन्धुली पुगेर सार्वजनिकरूपमा भनेका छन्, “यस्ता उथलपुथल सत्ताका निम्ति भइरहन्छन् ।”

सत्ताबाट पन्छाइएपछि मोर्चाको खोजी

सत्ताको नेतृत्वमा रहँदा प्रचण्डले मोर्चालाई अगाडि बढाउन खोजेको देखिएन । पार्टी एकतासम्मको अवस्थामा लैजाने उद्घोषसहित बनाइएको मोर्चा प्रचण्ड सत्तामै रहँदा करिब भताभुङ्ग बन्यो ।

विभाजित जसपाले मात्रै होइन, एकीकृत समाजवादीले पनि मोर्चाको औचित्य नभएको घोषणा गरेको थियो । तर, पछिल्लो घटनाक्रमका बीच प्रचण्ड सत्ताबाट पाखा परेसँगै भने फेरि मोर्चाको खोजी सुरु भएको छ ।

सत्ताबाट पाखा परेका माओवादी केन्द्र र एकीकृत समाजवादी मोर्चालाई अगाडि सहमत भएका छन् । जसमा विप्लव नेकपाले साथ दिने निर्णय लिएको छ ।

मङ्गलवार एकीकृत समाजवादीको केन्द्रीय मुख्यालय आलोक नगरमा माओवादी केन्द्र, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा नेताहरू बसेर मोर्चालाई पुनः अगाडि बढाउने निर्णय गरेका थिए ।

एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालका अनुसार बैठकले नयाँ कार्यक्रम र योजना बनाउन चार सदस्यीय कार्यदल बनाएको छ । सँगै मोर्चालाई विस्तार गर्ने निर्णय पनि गरिएको छ ।

“परिस्थितिअनुसार मोर्चाको सक्रियता र सुस्तता चाहिँ भएकै हो, अहिले परिस्थिति फेरिएको छ, गठबन्धन अर्को बनेको छ”, हमालले भनेका छन्, “अब मोर्चालाई प्रभावकारी बनाउने लैजाने कुरा हो, त्यो दिशातर्फ हामी अगाडि बढ्छौं ।”

हमालका अनुसार उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चालगायतलाई पनि मोर्चामा समेट्न छलफल बढाउने निर्णय भएको छ ।

रोचक विषय, माओवादी केन्द्रसँग एकताको अन्तिम तयारीमा रहेको नेसपाको महिन्द्र राय यादव नेतृत्वको समूहलाई पनि मोर्चाको एउटा घटकका रूपमा मान्यता दिइएको छ ।

‘अस्थित्व रक्षाको छटपटाहट मात्रै’

वामपन्थी विश्लेषक मुकुन्द आचार्य अहिले विशेष गरी प्रचण्ड सत्ताबाट पाखा पन्छिएसँगै अस्तित्व रक्षाको संकटमा पुगेको बताउँछन् । समाजवादी मोर्चालाई अगाडि बढाउने ध्याउन्न पनि त्यही संकटबाट आएको उनको बुझाई छ ।

“प्रचण्ड अहिले अस्तित्व रक्षाको संकटमा छन्, उनी छटपटाएका छन्, मोर्चालाई अगाडि बढाउने कुरा विकल्पविहीन अवस्थामा गरिएको निर्णय मात्रै हो”, आचार्य भन्छन्, “यो आत्मरतिमा रमाउने उपाय बाहेक केही हुन सक्दैन ।”

विशेषगरी प्रचण्ड नीतिगतरूपमै नसच्चिएसम्म उनले आफ्नो अस्तित्व रक्षा गर्न नसक्ने बुझाई आचार्यको छ ।

“प्रचण्ड हदैसम्मको अनुकूलतामा विश्वास गर्छन्, उनीसँग कुनै नीति र योजना देखिन्न, तत्कालीन उपलब्धिमा रमाउने उनको शैलीले नै अहिलेको संकट ल्याएको हो”, आचार्य भन्छन्, “उनी नीतिगतरूपमै सच्चिन आवश्यक छ, उनले आफ्नो अस्तित्व समाजवादी मोर्चाबाट होइन, माओवादी घटकहरूलाई एक ठाउँमा ल्याएर मात्र गर्न सक्छन् ।”

वैचारिक र सैद्धान्तिकरूपमा भिन्न–भिन्न रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीलगायत बिचमा एकता खोजेर सम्भव नहुने बुझाई आचार्यको छ । आचार्यका अनुसार अहिलेको मोर्चाले निकास दिन सक्दैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट