काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज खरिदको किस्ताबापत असारमा मात्रै ४३ करोड नौ लाख ५५ हजार रुपैयाँ भुक्तानी गरेको छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण तिरेको हो ।
निगमले अन्तर्राष्ट्रिय उडानलाई सहज बनाउन भन्दै दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गरेको थियो । निगमका अनुसार ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८१ असार महिनाको किस्ता बापत पूरा र वाइडबडी जहाजको आंशिक गरी ३१ असारमा उक्त रकम भुक्तानी गरिएको हो ।
योसँगै निगमले २०८१ असारसम्म पाँच अर्ब ७९ करोड ७६ लाख ४२ हजार २४९ रुपैयाँ किस्ता भुक्तानी गरेको छ । निगमले दुवै कोषलाई ऋण तिर्न सहज गरिदिन आग्रहसमेत गरेको छ ।