काठमाडौं । फिल्म ‘ज्वाइँ साब’को छायांकन सकिएको छ । एक महिनासम्म चित्लाङ र चितवनमा छायांकन गरेपछि फिल्मको छायांकन सकिएको हो ।
छायांकन सकेसँगै फिल्मको निर्माण टिम पोष्ट प्रोडक्शनको काममा जुटेको छ ।
निर्देशक वसन्त निरौलाले २३ दिन चित्लाङ र ७ दिन चितवनमा खिचेपछि फिल्मको छायांकन सकिएको जानकारी दिए । ‘यस पटक फिल्म रमाइलो बनेको छ कलाकार र प्राविधिकहरूको साथका कारण तोकिएकै समयमा फिल्मको छायांकन सकियो,’ उनले भने ।
यो फिल्ममा कलाकार जितु नेपाल र नायिका नीति शाह मुख्य भूमिकामा छन् । उनीहरूको अलावा फिल्ममा बुद्धि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश बुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारको अभिनय छ ।
यो फिल्ममा जितु नेपाल र नीति शाहको जोडीलाई दर्शकले विशेष रूपमा देख्न सकिन्छ । निर्माण पक्षले यी दुईको गेटअप भने सार्वजनिक गरेको छैन ।
निर्देशक निरौलाले भने, ‘जितु र नीति शाहलाई दर्शकले विशेष अवतारमा देख्न सक्नुहुनेछ । यसैले, हामीले सुटिङ सेटबाट कुनै पनि लुक्स सार्वजनिक गरेका छैनौँ । दर्शक फस्टलुक देखेर सर्प्राइज हुनुहुनेछ ।’
राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्ममा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।
विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।