काठमाडौं । बंगलादेशमा आरक्षण विरोधी प्रदर्शन हिंसात्मक बनेपछि ढाकास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन सतर्क गराएको छ ।
बुधवार सूचना जारी गर्दै दूतावासले नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन आग्रह गरको हो ।
राजदूतावासले कारणवश कलेज प्रशासनले होस्टेलबाट सुरक्षित स्थानमा जान वा आफू बसेको स्थान प्रतिकूल भएमा दूतावासमा सम्पर्क गर्न अनुरोधसमेत गरेको छ ।
अहिलेसम्म भएको प्रदर्शनमा ६ जनाको मृत्यु भएको छ । जसमा तीन जना विद्यार्थीहरू रहेका छन् । सरकारी जागिरमा बंगलादेशको स्वतन्त्रता आन्दोलनमा भाग लिएका व्यक्तिका छोराछोरीलाई दिइएको आरक्षणको विरोधमा आन्दोलन चर्किएको हो ।
आरक्षणको विरोधमा उत्रिएका विद्यार्थी र सत्तारुढ अवामी लिगको भ्रातृ सङ्गठन बंगलादेश छात्र लिगबीच देशका विभिन्न ठाउँमा हिंसात्मक झडप भइरहेका छन् ।