फिल्म ‘एक्टर’को छायांकन ४५ दिनमा सम्पन्न, जापान प्रदर्शन अधिकार बिक्री-Sutra News

फिल्म ‘एक्टर’को छायांकन ४५ दिनमा सम्पन्न, जापान प्रदर्शन अधिकार बिक्री

बुधबार, २ साउन २०८१

बुधबार, २ साउन २०८१

काठमाडौं । छायांकन अगावैबाट चर्चामा रहेको फिल्म ‘एक्टर’को छायांकन सम्पन्न भएको छ । गत वैशाख महिनाको अन्त्यतिरबाट पोखराको विन्ध्वासिनी मन्दिरमा पूजा गर्दै छायांकन सुरु गरिएको फिल्मको दुई चरण गरी ४५ दिनमा छायांनक पूरा गरिएको हो ।



पोखरामा १० दिन खिचेपछि काठमाडौंमा ३५ दिन छायांकन गरिएसँगै फिल्मको एउटा गीत खिच्न बाँकी राख्दै सम्पूर्ण छायांकन सकिएको निर्माता थमन कुमार भण्डारीले जानकारी दिए ।

‘समय लगाएरै फिल्मको छायांकन सकिएको छ, सुटिङ अवधिभर कलाकार र प्राविधिकहरुको साथ मिल्नाले सोचेअनुरुप नै काम सक्काइयो, अब बाँकी गीतको छायांकन युरोपमा गर्ने सोचमा छौँ,’ निर्माता भण्डारीले भने, ‘फिल्म कस्तो बन्यो भन्ने आम दर्शकलाई लाग्न सक्छ, जे होस् अब आउने तीन महिनाको अवधिमा हाम्रा टिजर, ट्रेलर र फस्टलुकबाट थाहा पाइनै हाल्नु हुने छ, यति हो प्रदीप खड्कालाई हेर्दै आएको भन्दा फरक देख्न सक्नु हुनेछ ।’

राजन भुसालको डेब्यु निर्देशनमा बन्न लागेको फिल्ममा प्रदीप खड्का, दिव्या रायमाझी, राजबल्लभ कोइराला, आना शर्मा, सुशील सिटौला, दिव्य देव, उषा रजक, प्रदीप चौधरी ‘पिके’, बादल भट्ट, अनोज पाण्डे, सुप्रज्ञा शर्मा, सिर्जना अधिकारीलगायतको अभिनय रहेको छ ।

दिव्याको भने यो पहिलो फिल्म हो । राजबल्लभले यही फिल्मबाट करिब दश वर्षपछि कमब्याक गरेका छन् । नायक खड्काले पहिलो पटक फिल्मी पर्दामा दिव्या र आनासँग सहकार्य गरेका हुन् ।

अदृत फिल्मसको प्रस्तुतिमा मोती फिल्मस्को निर्माण रहेको यो फिल्ममा थमन कुमार भण्डारीको लगानी छ । एनिस भुसाल सह-निर्माता रहेको यो फिल्मको क्रियटिभ प्रोड्युसर मोती कार्की हुन् ।  फिल्मका छायाँकार नरेन्द्र मैनाली हुन् ।

यो फिल्म यस वर्षको तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजामा रिलिज हुने छ । फिल्मको जापान प्रदर्शन अधिकार समेत बिक्री भएको छ। ‘एक्टर’को जापान राइट्स खेम राज शाहको म्याक्स इटरटेन्टमेन्टले खरिद गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट