काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । सत्ता पक्षका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले अब बस्ने बैठकमा विश्वासको मत लिने भएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई गत आइतबार प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । सोमबार उनले पद तथा गोपनीयताको शपथ लिएका थिए ।
संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनु पर्ने हुन्छ । प्रधानमन्त्री ओलीले सत्ता पक्षका दलका नेता तथा प्रमुख सचेतकहरूसँग छलफल गर्दै ६ गतेका लागि विश्वासको मत लिने समय तय गरेको बर्तौलाले बताए ।
साउन ६ गते प्रधानमन्त्री ओलीले संसद् बैठकबाट देशवासीको नाममा सम्बोधन गर्ने कार्यक्रम पनि तय गरेका थिए ।