गठबन्धन फेरिएसँगै टाढिए ओली–माधव-Sutra News

गठबन्धन फेरिएसँगै टाढिए ओली–माधव

बिहिबार, ३ साउन २०८१

बिहिबार, ३ साउन २०८१

काठमाडौं । २०८० फागुन २१ र फागुन २९ मा भएको सहमतिसँगै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल नजिक हुने परिस्थिति बनेको थियो । पार्टी विभाजनपछि बढेको दुरी सत्ता समीकरण निर्माणसँगै क्रमशः घट्दै गएको थियो । बोलचालसमेत बन्द भएका ओली–माधव सत्ता समीकरण बनाउनकै निम्ति एक्लाएक्लै छलफलमा समेत जुटेका थिए ।



फागुन २१ मा कांग्रेस र माओवादीको सत्ता समीकरण बदलिएपछि एमाले अध्यक्ष ओली नेपाल निवास कोटेश्वरमै पुगेका थिए । त्यसले दुई नेताबीचकोे सम्बन्धलाई नजिक्याएको थियो ।

नयाँ समीकरण बनेसँगै ओली र नेपालबीच पार्टी एकताकै तहमा पनि चर्चा चलेको थियो । तत्कालिन समय दुवै पार्टीभित्र दोस्रो तहका नेताहरु पार्टी एकता गराउन सक्रिय बनेका थिए ।

यद्यपि, फागुन २१ र २९ को सहमति लामो समय टिकेन । चार महिनामै ओलीले कित्ता फेरे ।

ओलीले असार १७ को मध्यराति नेपाली कांग्रेससँग नयाँ गठबन्धन बनाउने सहमति गरेका थिए । ओली सोही सहमतिका आधारमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका छन् । अहिले सत्तामा कांग्रेस, एमालेसहित चार दल छन् ।

नयाँ गठबन्धनभित्र संविधान संशोधनलगातका विषयमा सहमति भएको छ । नयाँ गठबन्धन बनेसँगै माओवादी केन्द्रलगायतका दलहरु पाखा परेका छन् । जसमा एकीकृत समाजवादी पनि छ ।

कांग्रेस र एमालेले आगामी निर्वाचनसम्म गठबन्धन कायम राख्ने र संविधान संशोधन गर्दै दुई दलीय व्यवस्थातर्फ मुलुकलाई लैजाने बताइरहेका छन् । विद्यमान निर्वाचन प्रणाली संशोधन गरिने नेताहरुको भनाई छ ।

यस्तोमा सबै प्रक्रियाबाट पाखा परेका माधव नेपालपनि ओलीविरुद्ध केन्द्रीत बनेका छन् । अहिले सत्ताबाट पाखा परेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत एक ठाउँमा छन् । उनीहरु समाजवादी मोर्चालाई ब्यूँताउँदै बैकिल्पक गठबन्धन निर्माणको प्रयासमा जुटेका छन् ।

सत्ताको नेतृत्वमा पुगेका ओलीविरुद्ध घोषितरुपमै तीन नेता खडा भएका छन् । यस्तोमा घट्दै गरेको ओली–नेपाल दुरी फेरि नघट्ने गरी बढेको छ ।

तिव्र उतारचढावपूर्ण सम्बन्ध

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विघटनसँगै ब्यूँतिएको एमालेमा ओली र माधव सँगै थिए । यद्यपि, दुईबीच सात महिना पनि सहकार्य भएन । नेपालले २०७८ साल भदौमै एमाले विभाजन गरेर बाहिरिए ।

पार्टी विभाजनयता दुईबीचको सम्बन्ध निकै नै तिक्ततापूर्ण रह्यो । ओलीले एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीलाई पार्टीको मान्यतासमेत दिएनन् ।

२०७९ वैशाखमा भएको स्थानीय निर्वाचनसँगै जनअनुमोदित भएपछि मात्रै ओलीले एकीकृत समाजवादीलाई पार्टीको मान्यता दिएका थिए ।
४ मंसिर २०७९ को आम निर्वाचनमा पनि एकीकृत समाजवादी एमाले र ओलीविरुद्ध चुनावी मोर्चा बनाएर लागेको थियो । कांग्रेस, माओवादी र एकीकृत समाजवादीसहितको पाँच दलीय गठबन्धन बनाएर एमाले र ओलीविरुद्ध भिडेका थिए ।

यद्यपि, निर्वाचनको नतिजासँगै भने कांग्रेससँगको गठबन्धन भङ्ग भयो । तत्कालिन समय एमाले र माओवादी केन्द्रबीच सत्ता सहकार्य हुँदा ओली र नेपाल फेरि केही नजिक हुने परिस्थिति बनेको थियो ।

तत्कालिन समय दुई दलका नेताहरुबीच पार्टी एकतासम्मको प्रयास भएको थियो । कतिपय सार्वजनिक कार्यक्रममा ओली र नेपाल सँगै पनि देखिएका थिए ।

विशेषगरी पार्टी कमजोर बनेसँगै अध्यक्ष नेपालले पनि विकल्प खोजेका थिए । जसमा अन्य नेताहरु सहायक बने । तर, त्यो गृहकार्यले मूतरुप लिन पाएन ।

पछिल्लो एकीकृत समाजवादीको महाधिवेशनलाई ओलीले बहिष्कार गरेसँगै चिसोपन बढेको थियो । जसको निरन्तरतामा ओलीको सपथमा देखियो । जहाँ नेपाल उपस्थित भएनन् । जहाँ एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पुग्दा नेपालले पूर्ण वेवास्ता गरे ।

निर्वाचनपछि दुई दल मिलाएर पुनः ठूलो दल बनाउने र अन्य साना कम्युनिष्टलाई पनि समेट्नेसम्मको छलफल पछिल्ला घटनाक्रमसँगै सेलाएका छन् । ओली र नेपाल फेरि नजिक हुन गाह्रो हुने गरी टाढिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट