साताको अन्तिम दिन नेप्सेमा भारी वृद्धि, रेकर्ड विन्दुमा कारोबार रकम-Sutra News

साताको अन्तिम दिन नेप्सेमा भारी वृद्धि, रेकर्ड विन्दुमा कारोबार रकम

बिहिबार, ३ साउन २०८१

बिहिबार, ३ साउन २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६० अंकले वृद्धि भएर बन्द भएको छ । आज नेप्से परिसूचक ५९.६८ अंकले वृद्धि हुँदा २७ महिनापछि दुई हजार ४२४.३२ को बिन्दुमा पुगेको हो ।



यसअघि विं.सं. २०७८ सालको चैत महिनामा नेप्से परिसूचक २४ सयको बिन्दुमा कायम थियो । नेप्से परिसूचकको वृद्धि हुँदै जाँदा कारोबार रकमले पनि रेकर्ड बनाउँदै गएको छ ।

आज १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँभन्दा बढीको तीन करोड ९९ लाख कित्ता शेयर किनबेच भएको छ । यसअघि बुधबार ५४.०४ अंकले वृद्धि हुँदा कारोबार रकम १२ अर्ब नजिक थियो ।

नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा सरकार बनेसँगै नेप्सेमा सकारात्मक प्रभाव परेको हो । अर्थमन्त्री विष्णु पौडेल सोमबार अर्थमन्त्रीमा नियुक्त हुँदा नेप्से घटे पनि पछिल्ला दिनहरूमा भारी अंकले वृद्धि हुँदै आएको हो ।

आज पाँच वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स, आँखु खोला जलविद्युत कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था, थ्री स्टार हाइड्रोपावर, प्रभु बैंक, कुमारी बैंक र रिभर फल्स पावरको सेयर मूल्य उच्च अंकले बढेको हो ।

यसैगरी कारोबार भएका १३ मध्ये २ वटा समूहको सूचक घटेका छन् । आज वित्त र हाइड्रोपावर समूहको सूचक घट्दा अरूको वृद्धि भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट