काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले सचिवालय टिम बनाउनमा व्यस्त छन् । मन्त्रिपरिषद्लाई आफूले सपथ लिएकै दिन करिब पूर्णता दिएका ओलीले अहिले अन्य नियुक्तितर्फ आफूलाई केन्द्रीत बनाएका हुन् ।
ओलीले बुधबार महान्यायाधिवक्तामा रमेश बडाललाई नियुक्त गरेका थिए । उनले बिहीबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।
महान्यायाधिवक्तामा नियुक्त बडाल ओलीका विश्वासिला पात्र हुन् । यसअघि पनि ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनेका बडाल ओलीलाई कानुनी सल्लाह सुझाव दिने पात्र पनि हुन् ।
पहिलो संविधानसभा विघटनको कदमपछि कानुनी हिसाबले सघाएका बडाललाई ओलीले २०७७ चैत ६ मा महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । यद्यपि, उनको कार्यकाल लामो समय रहेन । दोस्रो विघटनसँगै सर्वोच्च अदालतको परमादेशले नयाँ सरकार गठन भएसँगै उनी पनि महान्यायाधिवक्ताको पदबाट बाहिरिएका थिए ।
बडाल संसद विघटनको पक्षमा अहिले पनि खुलेर बोल्छन् । सर्वोच्च अदालतले बदर गरिदिएको कदमलाई पनि उनी बेठिक हो भन्दैनन् ।
ओलीले तिनै संसद विघटनका पक्षधर बडाललाई महान्याधिवक्तामा नियुक्त गरेका हुन् ।
तर, रोचक विषय ओलीले एमालेको तर्फबाट बनाएको टिममा नै संसद विघटन पक्षधरलाई मात्रै समेटेका छन् । ओलीले आफ्नो तर्फबाट छानेका मन्त्री पनि उनको कदमका पक्षपाती मात्रै छन् ।
अहिले ओलीले संसद् विघटनको विरुद्धमा सडकमा ओर्लिएका तत्कालिन माधव कुमार नेपाल पक्षधर ‘१० भाइ’लाई आफ्नो टिममा समेटेका छैनन् । १० भाइमध्येका एमालेमै बाँकी रहेका र हाल सांसद भएकाले पनि मन्त्री बन्ने अवसर पाएनन् ।
एमालेभित्रका केही ओली योजनाबद्ध आफूविरोधीलाई पाखा पन्छाउन लागेको बताउँछन् । जसको उदाहरण पार्टीभित्र र सरकारभित्र दिइएका अवसर नै हुन् ।