त्रिशूलीमा बेपत्ता बसका एक यात्रुको शव फेला-Sutra News

त्रिशूलीमा बेपत्ता बसका एक यात्रुको शव फेला

बिहिबार, ३ साउन २०८१

बिहिबार, ३ साउन २०८१

काठमाडौं । गत शुक्रबार बिहान ३ बजे नारायणगढ मुग्लिन सडक खण्डमा पर्ने सिमलतालमा पहिरोसँगै त्रिशूलीमा बेपत्ता दुई बससहित यात्रुको खोजी कार्य जारी छ । घटना भएको एक हप्ता हुँदा २० जनाको शव मात्रै फेला परेको छ ।



खोजीको क्रममा बिहीबार अर्का एक यात्रुको शव फेला परेको प्रहरीले जनाएको छ । भरतपुर महानगर २६ शिशुवार क्षेत्रको नारायणी नदी किनारमा एक पुरुषको शव भेटिएको हो । शवको सनाखत हुन बाँकी छ ।

शवलाई भरतपुर अस्पताल ल्याएर पोष्टमार्टम गरिँदै छ । योसँगै सिमलताल दुर्घटनामा बेपत्ता बनेका २० जनाको शव भेटिएको प्रहरीले जनाएको छ । जसमध्ये १४ जनाको शव सनाखत भई परिवारको जिम्मा लगाइएको छ ।

पहिरोले दुई वटा यात्रुबाहक बस बगाएको थियो । ६२ जना यात्रुसहित बस त्रिशूलीमा बेपत्ता भए पनि नदीमा अझै ४२ यात्रुको अवस्था अज्ञात छ ।

सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटार र नेपाली सेनाका विपद् व्यवस्थापन गण रसौलीका तालिम प्राप्त सुरक्षाकर्मीले विभिन्न प्रविधिको प्रयोग गरेर बसको खोजतलास गरे पनि फेला पार्न सकेका छैनन् ।

वीरगञ्जबाट २७ यात्रुसहित काठमाडौं जान आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाण्डौंबाट ३८ यात्रु लिएर रौतहटको गौर जान आउँदै गरेको बा ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट