खतिवडाले रोकिदिए मौद्रिक नीति-Sutra News

खतिवडाले रोकिदिए मौद्रिक नीति

शुक्रबार, ४ साउन २०८१

शुक्रबार, ४ साउन २०८१

काठमाडौं । शुक्रबार सार्वजनिक हुने भनिएको चालु आर्थिक वर्षको मौद्रिक नीति केही दिनका लागि रोकिएको छ । नेपाल राष्ट्र बैंकले आज दिउँसो सार्वजनिक गर्ने तयारी गरेको मौद्रिक नीति प्रधानमन्त्री केपी शर्मा ओलीका अर्थ सल्लाहकार डा. युवराज खतिवडाले अन्तिम समय सार्वजनिक गर्न रोकेका हुन् ।



बिहीबार आर्थिक सल्लाहकार नियुक्त डा. खतिवडाले मौद्रिक नीति हेर्नुपर्ने भन्दै रोकेको राष्ट्र बैंक स्रोतले बताएको छ । बताइएअनुसार बिहीबार साँझ डा. खतिवडाले गभर्नर महाप्रसाद अधिकारीलाई टेलिफोन संवाद गरी केही हेरफेर गरेर मात्रै मौद्रिक नीति ल्याउन आग्रह गरेका थिए ।

डा. खतिवडाको आग्रहपछि शुक्रबारका लागि तय भएको कार्यक्रम स्थगित गरिएको हो । बताइएअनुसार डा. खतिवडासँगको परामर्शपछि मात्रै मौद्रिक नीतिलाई पूर्णता दिइनेछ र सार्वजनिक गरिनेछ ।

प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकारमा नियुक्त डा. खतिवडा राष्ट्र बैंकका पूर्व गभर्नरका साथै पूर्वअर्थमन्त्री हुन् । उनै खतिवडाले अर्थमन्त्री हुँदा अधिकारीलाई गभर्नरमा नियुक्त गरेका थिए ।

राष्ट्र बैंकमा रहँदा समेत सहकार्यमा रहेका खतिवडा–अधिकारीबीच गुरु–चेलाको सम्बन्ध रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट