बलियो बन्दै विपक्षी मोर्चा, संसदमा साझा एजेन्डा राख्ने-Sutra News

बलियो बन्दै विपक्षी मोर्चा, संसदमा साझा एजेन्डा राख्ने

शुक्रबार, ४ साउन २०८१

शुक्रबार, ४ साउन २०८१

काठमाडौं । सत्ता समीकरण परिवर्तनसँगै विपक्षीको बेन्चमा पुगेका दलहरु मोर्चाबन्दीको तयारीमा जुटेका छन् । दलहरुले संसद र सडकमा साझा धारणा बनाउने तयारी गरेका छन् ।



संसदका तीन दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन नेता शुक्रबार माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा छलफल जुटेका थिए । नेताहरुले सरकारका हरेक कदमविरुद्ध साझा धारणा बनाउने सहमति गरेका छन् ।

एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेका अनुसार पछिल्लो सरकार गठन र सरकारले चाल्न खोजेका कदमबारे समीक्षा भएको छ । साथै, प्रत्येक घटनामा साझा धारणा बनाएर उभिने सहमति बनेको छ ।

“प्रतिपक्षी कसरी बलियो भएर बस्ने भन्ने अलि बढी चुनौति छ, अर्कोतर्फ थुप्रै एजेन्डाहरुमाथि पनि पैरवी गर्नुपर्ने खाँचो छ”, पाण्डेले भनेका छन्, “तिनै विषय छलफल भयो, साझा धारणा बनाएर जाने विषयमा सहमति भएको छ ।”

विपक्षी दलहरुभित्र वर्तमान सरकार निर्माणको विषयमाथि प्रश्न देखिन्छ । प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नियुक्ति संविधान मिचेर भएको निष्कर्ष दलहरुको छ ।

“७६ (२) अनुसार बनेका प्रधानमन्त्रीले संसदमा विश्वासको मत नपाएपछि ७६ (३) अनुसार नयाँ सरकार गठन हुनुपर्ने हो, तर, त्यसो भएन, उपधारा २ अनुसार नै बनाएर संविधान मिचिएको छ”, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भनेका छन्, “यो विषयमा सशक्त विरोध गर्ने सहमति भएको छ ।”

तीन दलले यसबारे सरोकारवालासँग छलफल गर्ने तयारी पनि गरेका छन् ।

हालै, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत मिलेर समाजवादी मोर्चालाई सशक्त गराउने र अन्य साना दललाई पनि समेट्ने निर्णय गरेका थिए । दलहरुले विपक्षी मोर्चालाई बलियो बनाउँदै जाने निर्णय गरेका थिए । यही घटनाक्रमका बीच एकातिर संसदभित्रका विपक्षी शक्ति एकाकार हुने र अर्कोतिर संसद बाहिरका शक्तिलाई पनि एकाकार गराउने तयारीमा विपक्षी दलहरु लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट