काठमाडौं । नेपालले तिर्नु पर्ने कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब तीन करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा एक खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख ऋण थपिएको हो ।
कार्यालयले प्रकाशित गरेको ‘२०८१ असार मसान्तसम्मको सार्वजनिक ऋणको संक्षिप्त प्रतिवेदन’ अनुसार ०८० साउनमा २२ खर्ब ९९ अर्ब ३५ करोड बराबर रहेको थियो । ०८१ असार समान्तसम्म बढेर २४ खर्ब ३४ अर्ब तीन करोड ६५ लाख पुगेको हो ।
वैदेशिक मुद्राको समायोजनपछि बाँकी ऋण दायित्व २४ खर्ब ३३ अर्ब २३ करोड ९४ लाख बराबर छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को आधारमा सार्वजनिक ऋण ४२ दशमलव ६५ प्रतिशत बराबर हो ।
कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको दायित्व ११ खर्ब ८० अर्ब ९० करोड १८ लाख र बाह्य ऋणको दायित्व १२ खर्ब ५२ अर्ब ३३ करोड ७६ ला पुगेको छ ।
गत आर्थिक वर्ष २०८०÷८१ मा सरकारले जम्मा चार खर्ब ५२ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा असार मसान्तसम्ममा तीन खर्ब ५८ अर्ब दुई करोड ९५ लाख ऋण प्राप्ति भएको कार्यालयले जनाएको छ ।