काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग गठबन्धन नगर्ने शर्तमा दुई ठूला दल मिलेको बताएका छन् । गत १७ गते राति संसदका दुई ठूला दलबीच आलोपालो सत्ता सञ्चालन गर्ने गरी गठबन्धन गरेसँगै सहमति गोप्य राखिएको छ ।
यसैबीच, कतारको राजधानी दोहामा भएको प्रवासी मञ्चको सातौँ अधिवेशनलाई सम्बोधन गर्ने क्रममा पोखरेलले नयाँ गठबन्धनको सहमतिबारे आंशिक खुलासा गरेका हुन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिक स्थायित्व बनाउनका लागि कांग्रेस-एमाले सरकार बनेको बताए । सम्बोधन गर्ने क्रममा उनले प्रचण्डले चुलबुल गर्दा हुँदाखाँदाको पद गएको टिप्पणी गरे ।
यसैबीच कांग्रेस महामन्त्री गगन थापाले पनि प्रचण्डको चकचकका कारण यसअघिको सरकार ढलेको बताए । ‘म सबैलाई सधैंभरि झुक्याउन सक्छु भन्ने भ्रम प्रचण्डले नपालेको भए अहिलेको यो सरकार बन्दैनथ्यो,’ ४२ औँ वीपी स्मृतिको अवसरमा उनले भने, ‘उहाँको चकचककै कारणले यो परिस्थिति निर्माण भएको हो ।’
महामन्त्री थापाले दुई दलबीच भएको सहमतिको एउटा बुँदामा स्थिरता दिने उल्लेख गरेको बताए । ‘नेपालमा सरकारहरु धेरै बदलिए, सरकार बदलिएकै कारणले गर्दा दुई पार्टी मिलेपछि ०८४ सालसम्म हामी तलमाथि गर्दैनौँ भनेका छौँ,’ उनले भने, ‘एउटा चरणमा एमालेको अध्यक्षको नेतृत्वको सरकार रहन्छ, त्यसपछि कांग्रेस सभापतिको नेतृत्वमा सरकार रहन्छ ।’
उनले आगामी दिनमा सरकारभित्र कुनै तलमाथि नहुने दाबी गरे । ‘दुई वर्ष ओली नेतृत्वको सरकार चलाउने भनिएको छ, हाम्रो चकचकले तलमाथि हुँदैन, यो कुरा हामीले प्रमाणित गर्दै आइरहेका छौँ,’ उनले भने ।
यसैबीच महामन्त्री थापाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पार्टीबीच भएको सहमतिलाई स्पष्ट रुपमा सदनमार्फत जानकारी गराउने विश्वास गरे ।