काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘घरज्वाइँ’ हिजोबाट दोस्रो सातामा प्रवेश गरेको छ। दोस्रो हप्तामा प्रदर्शनरत भएसँगै फिल्म विवादित बनेको छ ।
फिल्ममा समावेश रोधीसँग सम्बन्धित दृश्यप्रति गुरुङ समुदायको संस्था ‘तमु धिं नेपाल’ले हटाउन माग गरेको छ ।
संस्थाले चित्रण गरिएको रोधिं संस्कृतिसँग सम्बन्धित संवाद र दृश्यहरु रोधिंको कर्म र मर्म विपरीत भएको आपत्ति जनाउँदै सम्बन्धित प्रस्तुतिलाई सम्पादन गर्न आग्रह गरेको हो।
विज्ञप्ति जारी गर्दै ‘तमु धिं नेपाल’ले रोधी संस्कृतिको मर्म विपरीत केही दृश्य फिल्ममा देखाइएको ‘घरज्वाइँ’लाई आरोप लगाइएको छ ।
“घरज्वाइँमा प्रयोग गरिएको रोधी संस्कृतिसँग सम्बन्धित केही सम्बाद र दृश्यले रोधीको मर्म र कर्म विपरीत भएको देखिएकाले फिल्मसँग सम्बन्धितलाई ध्यानाकर्षण गर्दछौँ,” तमु धिं नेपालले विज्ञप्ति जारी गर्दै भनेको छ, “यो फिल्म निर्माणसँग सम्बन्धित पक्षले नकारात्मक वा भ्रमित हुने गरी रोधीसँग सम्बधित प्रस्तुतिलाई तत्काल सम्पादन गर्न अनुरोध छ ।”
उसले रोधीको सट्टा फिल्म छायांकन, कथा, विषयवस्तु केन्द्रित क्षेत्रकै शब्दावली प्रयोग गर्न सुझाव समेत दिएको छ । रोधी गुरुङ समुदायको संस्कृति भएको भन्दै त्यसलाई गलतरूपमा चित्रित नगर्न ‘तमु धिं नेपाल’ले आग्रह गरेको छ ।
विविध कारणले लोप हुँदै गएको रोधिंको संरक्षण, सम्वर्द्धन र विकास गर्नु राज्यको दायित्व भएको संस्थाको भनाइ छ । आगामी दिनमा संस्कृति, सभ्यता, मौलिकता, ऐतिहासिकतासँग सम्बन्धित फिल्मको प्रस्तुति गर्नुपूर्व सम्बन्धित समुदायसँग समन्वय गर्न गराउन समेत चलचित्र विकास बोर्ड र सेन्सर बोर्डलाई आग्रह गरेको छ ।
अनिल बुढा मगरले निर्देशन गरेको फिल्ममा दयाहाङ राई, मिरुना मगरलगायत कलाकारको अभिनय छ । फिल्ममा जनक घर्ती मगरको लगानी छ।