काठमाडौं । स्थानीय बजारमा आइतबार पनि सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला दुई हजार रुपैयाँले घटेको सुनको मूल्य आइतबार पनि एक हजार तीन सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी महासंघका अनुसार पछिल्लो दुई कारोबार दिनकै बीचमा सुनको मूल्य तीन हजार तीन सय रुपैयाँको दरले घटेको छ ।
महासंघका अनुसार मूल्य घटेसँगै आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४६ हजार दुई सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४५ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार आठ रूपैयाँमा कारोबार भएको थियो।
लगातार बृद्धिका बीच असार २ मा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । तोलाकै एक लाख ४९ हजार आठ सय रुपैयाँ पुगेको सुनको मूल्य त्यसयता भने सुनको मूल्य लगातार ओरालोमा थियो ।
सुनको मूल्य घटेसँगै स्थानीय बजारमा चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला २० रुपैयाँका दरले घट्दै आइतबार चाँदी प्रतितोला एक हजार आठ सय १० रुपैयाँ कायम भएको छ ।