काठमाडौं । अहिले फिल्म निर्माण गरेर मात्र हुँदैन । दर्शकलाई हलसम्म आकर्षित गर्न प्रचार-प्रसार पनि राम्रै हुन आवश्यक हुन्छ । विना प्रचार प्रदर्शनमा उत्रिएका फिल्म राम्रा भएर पनि नचलेका उदाहरण कैयन् छन् ।
प्रचार राम्रो भएन भने हलमा कुन फिल्म प्रदर्शन भइरहेको छ भन्ने जानकारी दर्शकलाई हुँदैन । दर्शक नै फिल्मको बारेमा अनविज्ञ भए हलको व्यापार राम्रो हुने कुरै आउँदैन । त्यसैले फिल्म निर्माण गर्दै गर्दा प्रचारलाई पनि विशेष ध्यान दिन आवश्यक हुन्छ ।
हुन त, अहिले फिल्मको प्रचार शैली फेरिएको छ । एक समय पोस्टर र माइकिङ गरेर दर्शकमाझ फिल्मको जानकारी पुर्याइन्थ्यो । भित्तामा पोस्टर टाँस्ने चलन अझै हराएको छैन । तर, अब त्यसले दर्शक हलसम्म तान्न छाडिसकेको छ । अहिले पत्रकार सम्मेलन, कन्सर्ट, उपहारका योजनाहरु, प्रतियोगिता आह्वानलगायतका प्रचार शैली निकै फस्टाएका छन् । यो गर्दैमा हलमा दर्शकको भीड ओहिरिने भन्ने त होइन, तर फिल्म राम्रो भए केही हदसम्म फाइदा अवश्य पुग्छ ।
प्रतिष्ठित ब्यानरले फिल्म निर्माण गरेपछि महँगो बजेट प्रचार-प्रसारका लागि छुट्याउने गरेका छन् । तर, आगामी साउन १८ गतेदेखि प्रदर्शनमा आउन लागेको महँगै बजेटमा निर्माण भएको फिल्म ‘मोदीबेनी’ टिम पब्लिसिटीमा सक्दो प्रयास गरिरहेको छ ।
पर्वत जिल्लाको मोदीवेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर निर्माण भएको भनिएको यो फिल्म प्रदर्शनमा आउन करिब दुई साता पनि बाँकी छैन । तर, धेरै दर्शक फिल्मबारे अनविज्ञ छन् । किनकी, निर्माण टिम सार्वजनिक गरेका सामाग्री र फिल्मका कलाकारले फिल्मको विषयमा बोलेका कुराकानी दर्शकको नजरमा पर्न सकिरहेका छैनन् ।
प्रदर्शन मिति नजिकिएसँगै मोदीवेनी निर्माण पक्षले फिल्मको प्रचारकै लागि करिब १० लाख रुपैयाँ हाराहारी खर्च छुट्याएको निर्माण पक्षको भनाइ छ । फिल्मको प्रचार प्रसार ‘बबाल’ गर्छु भने सक्दो खर्च छुटाएको यस टिमले प्रचारकै लागि भनेर बेहिसाब खर्च गरिरहेको बताउँदै गर्दा दर्शकको अलिकति पनि ध्यान तान्न नसकिरहेको प्रष्टै देखिन्छ ।
सुरुवातमा फिल्मको फस्टलुक निकाल्दै चासो नदेखाएका दर्शकले यसपछि निर्माण पक्षले सार्वजनिक गरेका फिल्मका गीत र ट्रेलरलाई पनि त्यति मतलब गरेका छैनन् । उसो त निर्माण पक्षले गीत र ट्रेलरलाई युट्युबबाट सार्वजनिक गरे पनि अझ ज्यादा दर्शकले हेरुन् भनेर बुस्ट पनि गरे । जुन निर्माण पक्षले फिल्मका लागि अपनाएको मार्केटिङको स्टाजिटी पनि हो । यति गर्दा पनि गीत र ट्रेलरले जति भ्यूज पाउनु पर्ने हो त्यति पाएको छैन । जुन अपेक्षा अनुरुप बुस्ट गरेको निर्माण पक्षलाई यो सबै लगानी बालुवामा पानी भने सरह भएको छ ।
फिल्मको सार्वजनिक भएको ‘मन्जुरी’ गीत आज १२ दिन बितिसक्दा पनि मात्र तीन लाख ९ हजार ३० मात्र भ्यूज बटुल्न सफल भएको छ । निर्माण पक्षले कोरियोग्राफी राम्रो र गीत झिल्के-मिल्केसँगै तड्क-भड्क रहेको दाबी गरे पनि युट्युबमै चल्न सकस देखिएको छ । गीतको अडियो र भिडियोले दर्शकको मन जित्न सकिरहेको छैन ।
यसरी अडियो र भिडियो नचलेपछि निर्माण टिम यसलाई कसरी हुन्छ चलाउनै पर्ने दबाबमा आएर पुरस्कारको ‘ललिपप’ देखाउनसमेत भ्यायो । जसमा निर्माण टिमले रिल बनाई पोस्ट गरेर सर्त पालना गरेका योग्य क्रियटरहरूबाट गोला प्रथा गरी तीन जना विजेताहरूलाई पुरस्कार दिने बताएको थियो । तर, निर्माण पक्षले गीतलाई उठाउन गरेको यो सबै मेहनत बालुवामाथिको पानी बनेको छ ।
यसको केही सातापछि निर्माण पक्षले सार्वजनिक गरेको ट्रेलरलाई समेत दर्शक बटुल्न सकस भइरहेको छ । अब ट्रेलर बुस्ट गरी ठूलो सङ्ख्यमा दर्शक सामु पुर्याउन खोजेको छ । यति गर्दा पनि शतप्रतिशत दर्शकको नजरमा पर्न सकेन भने फिल्मले कमजोर प्रतिक्रिया पाइरहेको छ ।
यता फिल्म मल्टिस्टार कलाकारले भरिएको छ । फिल्ममा अभिनेत्री वर्षा शिवाकोटी र नव-अभिनेता अमर प्रताप श्रेष्ठ सरोज खनाल, कमलमणि नेपाल, प्रवीण खतिवडा, रेजिना उप्रेतीलगायत रहेका छन् । निर्माण पक्षले अभिनेत्री वर्षालाई नै प्रचारको मुख्य खम्बा बनाइरहेका छन् ।
करिअरमा कहिले गतिलो स्थान बनाउन नसकेकी वर्षाले यसअघि अभिनय गरेका अधिकांश फिल्म असफल भएका छन् । सधैँ जसो करिअर जसोतसो चलाइरहेकी उनलाई फिल्म दर्शकको नजरमा नपर्दा फाइदा के कतिको होला हेर्न बाँकी रहने भएको छ ।
कुनै फिल्ममा स्टार कास्ट र गज्जबको कथा भए पनि प्रचार प्रसार राम्रो नहुँदा दर्शकले हलमा लागेर उत्रिएको पत्तो पाउन सकेका हुँदैनन् । यसै सूचीमा डेढ करोड हाराहारीमा निर्माण भएको फिल्मले मोदीवेनी पर्ने निश्चित छ । यो फिल्मले लगानी सुरक्षित गर्न पाँच करोडमाथिको व्यापार गर्नु पर्ने हुन्छ । तर, दरिलो प्रचार प्रसार हुन नसकेको यो फिल्मले यति ठूलो व्यापार गर्न सक्ला त ?