काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेट भएको छ ।
आइतबार बिहान माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई नेताबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराहन्न १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने तयारी गरिरहेको बेला दुई नेताले भेट गरेका हुन् ।
माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघि नै विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । तिनै दलले ओलीलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त गरिनु गलत भएको भन्दै यस विषयलाई संसद र सडकमा उठाउने बताएका छन् ।
त्यस्तै, प्रचण्ड र नेपाल अहिले ओलीलाई दुई तिहाई सांसद्को समर्थन पूरा गर्न नदिने रणनीतिमा रहेका छन् । प्रचण्ड र नेपालले प्रयास गरे पनि ओलीले संसदमा विश्वासको मत पाउने निश्चित छ ।