काठमाडौं । नयाँ सत्ता समीकरणको प्रभाव नेकपा (माओवादी केन्द्र) प्रदेश तहका सरकारबाट पनि पाखा पर्ने अवस्थामा पुगेको छ । संघमा गठबन्धन फेरिएसँगै प्रदेश तहमा पनि अल्पमतमा परेको माओवादी केन्द्र क्रमशः प्रदेशको सत्ता नेतृत्वबाट पाखा पर्ने अवस्थामा पुगेको हो ।
तत्कालीन गठबन्धनको सहारामा माओवादी केन्द्रले बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व पाएको थियो । बागमतीमा सालिकराम जमरकट्टेलले गठबन्धन सरकारको नेतृत्व पाएका थिए भने लुम्बिनीमा जोखबहादुर महराले नेतृत्व पाएका थिए । केन्द्रमा नयाँ गठबन्धन बनेसँगै दुवै प्रदेशबाट नेकपा (एमाले)ले समर्थन फिर्ता लिएको थियो । जससँगै दुवै प्रदेश सरकार अल्पमतमा परेका थिए ।
अल्पमतमा परेका दुवै मुख्यमन्त्रीले आज विश्वासको मत लिँदैछन् । यद्यपि, दुवै प्रदेशमा विश्वासको मत पाउने अवस्था छैन ।
११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५६ सांसदको मत चाहिन्छ । जहाँ नेपाली कांग्रेस र नेकपा (एमाले) मिल्दा नै ६४ मत पुग्छ ।
कांग्रेससँग ३७ सांसदको मत छ भने एमालेसँग २७ सांसदको मत छ । जहाँ तेस्रो दलको रुपमा रहेको माओवादी केन्द्रसँग जम्मा २१ मत छ । माओवादी केन्द्रको पक्षमा सात सांसद भएको नेकपा (एकीकृत समाजवादी) बाहेक कसैले समर्थन गर्ने अवस्था छैन । यस्तोमा मुख्यमन्त्री जमरकट्टेल नेतृत्वको सरकार ढल्ने निश्चित छ ।
यता, ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको मत चाहिन्छ । जहाँको अवस्था पनि बागमतीको जस्तै छ ।
जहाँ एमालेसँग २९ सांसद छन् भने कांग्रेससँग २७ सांसद छन् । दुई दल मिल्दा मात्रै बहुमतभन्दा बढी ५६ सांसदको मत पुग्छ । महराको पक्षमा माओवादी केन्द्रका १० सहित एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक÷एक सांसदले मात्रै समर्थन राखेका छन् । यस्तोमा मुख्यमन्त्री महराले विश्वासको मत पाउने अवस्था देखिन्न ।
केन्द्र सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र कांग्रेस र एमालेबिच नयाँ गठबन्धन बनेसँगै अल्पमतका परेको थियो । अल्पमतमा परेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ मा संसद् फेस गरेका थिए । यद्यपि, उनले विश्वासको मत पाउन सकेनन् । जससँगै उनी नेतृत्वको सरकार ढल्यो ।
आफ्नो नेतृत्वको केन्द्र सरकार ढलेको दुई साता नबित्दै माओवादी केन्द्र प्रदेश तहका सरकारको नेतृत्वबाट पनि पाखा पर्ने अवस्थामा पुगेको हो ।