काठमाडौं । अदालतको आदेशपछि शुरु भएको काठमाडौं महानगरको न्यूरोड फुटपाथ विस्तारको काममा स्थानीयले विरोध गरेका छन् ।
यसअघि शुक्रबार महानगरले फुटपाथ फराकिलो गरिरहेको बेला स्थानीयले विरोध गरेर काममा अवरोध गरेकोमा आइतबार महानगरका सबै (३२ वटा) वडाका वडाध्यक्षहरुले ऐक्यवद्धता जनाएका छन् । कामनपा २२ का वडाध्यक्ष चीनकाजी महर्जनले सडकमा टेबुल कुर्सी राखेर काम गरिरहेका छन् ।
वडाध्यक्षहरुसहित स्थानीयले अवरोध गरेपछि महानगरको डोजर पनि न्यूरोड क्षेत्रबाट फर्किएको छ । स्थानीयसहितका वडाध्यक्षहरुले न्यूरोडको सडक साँघुरो बनाउन नहुने भन्दै फुटपाथ विस्तारको विरोध गरिरहेका छन् ।
यसअघि पाटन उच्च अदालतको आदेशपछि महानगरले बुधबार बिहानदेखि फुटपाथ विस्तारको काम अगाडि बढाएको यो । त्यस्तै फुटपाथ विस्तारको काममा डिभिजन सडक कार्यालय, काठमाडौंले अवरोध गरेपछि रोकिएको थियो ।
सडकलाई पैदल यात्रीमैत्री बनाउन महानगरले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो । जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौंले भौतिक रुपमा हस्तक्षेप गरेको थियो ।
यसपछि काम रोक्न १३ गते र १६ गते गरी २ वटा पत्र पठायो । डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।