काठमाडौं । प्रधानमन्त्रीले विश्वासको मत लिन बसेको प्रतिनिधिसभा बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्रीको खोजी गरेका छन् । विश्वासको मत मागेपछि प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएसँगै खोजी भएको हो
विश्वासको मतसम्बन्धि प्रस्तावमाथि बोल्न अध्यक्ष नेपाल रोष्ट्रममा पुगेका बेला प्रधानमन्त्री बाहिरिएका थिए । यस अवस्थामा उनले प्रधानमन्त्री कहाँ गए ? सबैको कुरा सुन्नु पर्ने हैन र ? भन्दै प्रश्न गरेका थिए ।
‘सर्वप्रथम त प्रधानमन्त्री नियुक्त हुनुभएकोमा केपी शर्मा ओलीलाई औपचारिक रूपमा बधाई ज्ञापन गर्न चाहन्छु, मैले प्रधानमन्त्री ज्यूलाई देखिरहेको छैन, उहाँले आफ्नो विश्वासको निम्ति मत मागिरहनु भएको छ, तर उहाँ यो हलबाट बेपत्ता हुनुहुन्छ,’ उनले भने, ‘उहाँले संसदलाई महत्त्व नदिएको लाग्यो, उहाँका लागि महत्त्वपूर्ण कुरा भनेको आजको सदनमा आजको पूरा समय उपस्थिति आवश्यक थियो ।’
प्रधानमन्त्री ओली प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन बोल्नुअघि नै हिँडिसकेका थिए । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गरेका थिए ।
उनीहरूले पनि ‘प्रधानमन्त्रीले कतैबाट सुनिरहनु भएको होला, उहाँलाई बधाई दिन चाहन्छु’ भन्दै आफ्नो सम्बोधन सुरु गरेका थिए ।