उद्योगीको पक्षमा खुलेका ओली कुलमानविरुद्ध आक्रामक-Sutra News

उद्योगीको पक्षमा खुलेका ओली कुलमानविरुद्ध आक्रामक

आइतबार, ६ साउन २०८१

आइतबार, ६ साउन २०८१

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्गको रुखो आलोचना गरेका छन् । डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विवादका सन्दर्भमा आफूले गरेको आदेशलाई पालना नगरेको भन्दै उनले आलोचना गरेका हुन् ।



उद्योगमा लाइन काटेर पैसा नउठ्ने भन्दै घिसिङ्गले घिसिङ्ग अडान अर्थहिन भएको बताए । “ट्रंक लाइन भनेको तार जोड्ने मात्रै होइन, बिजुली सप्लाई गर्ने हो, बिजुली दिने भन्ने सम्झौता गर्ने तर, लोडसेडिङ्ग लगाइदिने”, प्रधानमन्त्री ओलीले भनेका छन्, “उद्योग बन्द गराएर होइन, सञ्चालन गरेर समाधान खोजिनुपर्छ, उहाँ (कुलमान घिसिङ्ग)ले मैंले हिसाब बाँधिसके, महालेखालाई पठाइसकेँ, त्यो फेरबदल गर्न मिल्दैन, गलत हिसाब पठाएर फेरबदल गर्न मिल्दैन भनेर भन्नुभयो, तिर्नु नपर्ने विद्युत महसुल असुल गर्न सकिन्छ ?”

उनले घिसिङ्गले मनलागीरुपमा केहीको विद्युत काट्ने केहीलाई विद्युत दिने गरेको भन्दै आलोचना गरे । साथै, उनले अन्य सरकारका निर्णयहरुको पनि आलोचना गरेका छन् ।

“आज पहिलो पटक विद्युत काटिएको होइन, यसअघि पनि काटिए, फेरि के–के मिलाइए, विद्युतको लाइन दिए, फेरि के–के मिलाइन्छ, लाइन दिइन्छ, यसरी भएन”, ओलीले भने, “अहिले जम्मा ६ वटा उद्योगको लाइन काटेको हो । ६ वटा उद्योगको लाइन काट्ने अरुको किन नकाटेको ?”

प्रधानमन्त्री ओलीले तिर्न खोज्ने उद्योगीलाई किन बिल नदिएको भनि प्रश्न पनि गरेका छन् । “उद्योगले तिर्दिन भनेको छैन, जति प्रयोग गरेको हो, त्यो तिर्छु भनेको छ । प्रयोग कुन गरेको हो, त्यसको सरकारले बिल त दिनुपर्छ कि पर्दैन ?”, उनले भने ।

ओलीले फेरि नयाँ छानबिन समिति बनाएर मात्रै विवाद समाधान गर्न सकिने बताएका छन् । “असुल उपर नगर्ने भनेको छैन, तर छानबिन गरेर गर्नुपर्ने देखियो, विद्युत प्राधिकरण र उद्योगीको बीचमा ठूलो मतान्तर देखियो, छानबिन गरेर असुल गरौं”, उनले भनेका छन् ।

शुक्रबार ट्रंक लाइन विवादबारे प्रधानमन्त्री ओलीले घिसिङ्गसहित उर्जामन्त्री र व्यापारीलाई बोलाएर छलफल गरेका थिए । छलफल लगत्तै उनले महसुल विवाद छानबिन पछि मिलाउने भन्दै तत्काल बिजुली जोड्न निर्देशन गरेका थिए ।

यद्यपि, घिसिङ्ग उनको निर्देशन मान्न तयार भएनन् । उनले लिखित निर्देशन खोजिरहेका छन् । यस्तोमा प्रधानमन्त्री ओली तिव्र असन्तुष्ट छन् ।
आइतबार संसद बैठकमा माओवादी केन्द्रले घिसिङ्गलाई दिइएको ठाडो निर्देशनको विरोध गरेको थियो । जसको जवाफ दिने क्रममा ओलीले घिसिङ्गको आलोचना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट