काठमाडौं । युवापुस्तामाझ चर्चित नाम हो, सिसन बानियाँ । उनले भ्लग बनाउनका लागि नेपालको कुनै पनि ठाउँ पुग्न बाँकी राखेका छैनन् । केही वर्षदेखि उनले नेपालका विभिन्न रमणीय ठाउँहरुलाई भ्लगमार्फत् देखाउँदै आएका छन् । भ्लगबाटै बानियाँले शहरीया युवापुस्ताको ठूलो जमातमा आफ्नो चिनारी दिलाएका छन्।
उनै सिसनको अर्को सपना फिल्म मेकिङ पनि हो। भ्लग र यूट्युब कार्यक्रमबाट विश्राम लिने सोचमा पुगेका उनले ‘द होलटाइमर्स’ बाट फिल्म निर्माणमा हात हालिसकेका छन्।
सशस्त्र द्वन्द्वको कथावस्तुमा बनेको यो फिल्म सुरूमा फेस्टिभल र त्यसपछि हलमा रिलिज गर्ने तयारी छ। केही समय अघि आफ्नै पोडकास्ट कार्यक्रममा अभिनेता प्रदीप खड्कासँग कुराकानी गर्दै आफू विस्तारै फिल्म मेकिङमा आउने कुरा खुलाएका थिए । जसमा आफूलाई मीन भामले मार्गनिर्देशन गरिरहेको पनि बताएका थिए ।
उसो त, सिसनलाई वर्षौंदेखि फिल्मको प्रस्तावहरु पनि पुगिरहेको छ । तर, उनलाई अभिनयप्रति खासै रुचि छैन । फिल्म निर्देशन र निर्माणमा आफूलाई अगाडि बढाएर अनुभव बटुलेपछि फिल्म मेकिङ गर्ने सोच बनाएका उनले ‘रेन वेभ प्रिक्चर्स’ सुरूआत गरेको फेसबुकमार्फत जानकारी गराएका छन्।
यसैबीच आइतबार सामाजिक सञ्जालबाट सिसनले पटकथा लेखक, सिनेमेटोग्राफर, अभिनेता, निर्देशक, निर्माता र महत्वाकांक्षी फिल्म निर्माताहरूलाई फिल्म बनाउन एकसाथ आउनको लागि प्लेटफर्मको घोषणा गरेका छन्।
सिसनले यो प्लेटफर्मले लगानी, निर्माण र वितरणको दबाबबाट टाढा राख्ने बताएका छन्। साथै उनले आफूहरू अहिले केही महिनापछि छायांकन सुरू हुने दोस्रो फिल्मको काम गरिरहेको समेत बताएका छन्।
सिसन सह-निर्माता रहेको फिल्म ‘होलटाइमर’ यतिबेला पोस्ट-प्रोडक्सनमा छ । प्रवीण टक्की कार्कीसँग मिलेर उनले बनाएको यो फिल्मलाई पूजा गुरुङ र विभूषण बस्नेतले निर्देशन गरेका छन् । महोत्सवपछि हलमा रिलिजको तयारी छ ।