काठमाडौं । लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई नयाँ मुख्यमन्त्री बनाउन दाबी पेश गरिएको छ ।
कांग्रेस र एमालेको समर्थनमा आचार्यलाई मुख्यमन्त्री बनाउन सोमबार अपराह्न दाबी पेश गरिएको हो । यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तयारी भएको थियो ।
एमाले केन्द्रीय नेतृत्वको हस्तक्षेपपछि आचार्यलाई मुख्यमन्त्रीको रुपमा अगाडि सारिएको हो । लुम्बिनीमा कांग्रेस र एमाले मिल्दा स्पष्ट बहुमतमा रहेका छन् ।
कूल ८७ सदस्यीय लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद गरी ५६ सांसद रहेका छन् । प्रदेशमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्दछ ।