काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा ११ हजार सात सयको संख्यामा विद्युतीय गाडी (कार, भ्यान, जिप) आयात भएका छन् । भन्सार विभागले सार्वजनिक गरेको वार्षिक विवरणअनुसार एक वर्षको अवधिमा २९ अर्ब ४७ करोड ४३ हजार रुपैयाँ रकम बराबरको विद्युतीय सवारी आयात भएका हुन् ।
विभागका अनुसार यो हालसम्मकै उच्च आयातको स्तर हो ।
विभागका अनुसार समीक्षा वर्षमा ५० किलोवाट सम्मको मोटर पिक पावर क्षमताका ४ हजार ५७१ विद्यूतीय सवारी आयात भएका छन् भने ५१ देखि १०० किलोवाट क्षमताका ६ हजार ८८५ को संख्यामा आयात भएका छन् ।
यस्तै, १०१ किलोवाटदेखि २०० किलोवाट क्षमताका २१७ र २०१ देखि ३०० किलोवाट क्षमताका २७ विद्युतीय सवारी आयात भएका छन् ।
आयात भएका अधिकांश विद्युतीय सवारी उत्तरी छिमेकी देश चीनबाट आयात भएका छन् ।
आयातको बढ्दो ग्राफ
विद्यूतीय सवारीको आयात प्रत्येक वर्ष बढिरहेको छ । भन्सार विभागले जनाएअनुसार अघिल्लो आर्थिक वर्ष २०७९/०८० भन्दा गत आर्थिक वर्ष २०८०/०८१ मा झण्डै देब्बरले आयात बढेको छ ।
विभागका अनुसार आर्थिक वर्ष २०७९/०८० मा ११ अर्ब ८४ करोड ८ लाख रुपैयाँ बराबरको ४ हजार ५० वटा विद्यूतीय सवारी नेपाल भित्रिएका थिए ।
यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा एक हजार ८०७ विद्युतीय सवारी भित्रिएका थिए ।
अन्तशुल्क परिवर्तन गरेसँगै बढ्यो आयात
सरकारले जेठ १५ मा आर्थिक विद्येयकमार्फत विद्यूतीय सवारीमा अन्तशुल्कसमेत गरी १० प्रतिशत कर बढाउने निर्णय गरेको थियो । यद्यपि, कर बढेपछि आयातको संख्यामा उल्लेख्य बृद्धि भएको छ ।
विभागका अनुसार गत जेठमा मात्रै २९६९ को संख्या विद्युतीय सवारी आयात भएका छन् ।
विभागका अनुसार वैशाख महिनामा १४०४ को संख्यामा विद्युतीय सवारी आयात भएको थियो भने चैतमा ६५८को संख्यामा आयात भएको थियो ।