काठमाडौं । नेपालीहरू कति सौखिन शैलीका छन् भन्ने कुरा नेपालले आयात गर्ने वस्तु तथा सेवाको तथ्याङ्कलाई हेर्दा नै स्पष्ट हुन्छ । अनिवार्य आवश्यकीय वस्तु तथा सेवाको तुलनामा नेपालीहरूले सौखिन शैलीका वस्तु तथा सेवा पनि आयात गरिरहेका छन् ।
भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदनलाई हेर्दा, नेपालमा सबैभन्दा बढी आयात हुने वस्तु तथा सेवामा स्मार्ट फोन पनि पर्दछ । विभागका अनुसार एक वर्षको अवधिमा नेपालीले कुल १८ लाख ३९ हजार ३५ थान स्मार्ट मोबाइल मात्रै खरिद गरेका छन् । विभागका अनुसार जसको मूल्य २८ अर्ब ६६ करोड ६२ लाख रुपैयाँको छ ।
अपत्यारिलो लाग्ने विषय नेपालीहरूले सुनभन्दा पनि बढी स्मार्ट मोबाइल फोन खरिदमा खर्च गरेका छन् । विभागका अनुसार एक वर्षको अवधिमा नेपालीले कुल २६५१.८६ केजी सुन आयात गरे । उक्त सुनको मूल्य २३ अर्ब ६५ करोड ३९ लाख रुपैयाँ बराबरको छ ।
जसलाई हेर्दा सुनभन्दा पनि नेपालीले पाँच अर्ब बढीको स्मार्ट मोबाइल खरिद गरेका छन् ।
स्मार्ट खालको मोबाइल बाहेक एक वर्षको बिचमा नेपालीहरूले सामान्य प्रकृतिको मोबाइल सेट खरिदमा पनि ९ करोड ११ लाख रुपैयाँ खर्च गरेका छन् । विभागका अनुसार एक वर्षमा नेपालीहरूले २७ हजार ३५९ थान मोबाइल सेट खरिद गरेका छन् ।
यसैगरी, नेपालीहरूले ल्याण्डलाइन सेटमा पनि ५ करोड १२ लाख रुपैयाँ खर्चिएका छन् । विभागका अनुसार ५३ हजार २३२ सेट ल्याण्डलाइन फोन सेट खरिदमा सो रकम खर्च भएको हो ।
मोबाइलका अन्य सामाग्रीमा पनि करोडौँ खर्च
मोबाइल खरिदमा अर्बौँ खर्चिएका नेपाली मोबाइलकै लागि आवश्यक पर्ने अन्य सामाग्रीमा पनि करोडौँ खर्चिएका छन् । विभागका अनुसार एक वर्षको बिचमा नेपालीले मोबाइल चार्जरका निम्ति मात्रै ५० करोड ७१ लाख रुपैयाँ खर्च गरेका छन् । ४३ लाख ८२ हजार ८३९ थान मोबाइल चार्जर खरिद गर्दा सो रकम खर्च विभागले जनाएको छ ।
सँगै मोबाइलसँग जोडिएको अर्को सामाग्री हेडफोनको खरिदमा पनि करोडौँ खर्च भएको छ । एक वर्षको बिचमा नेपालीले कुल २९ लाख ९६ हजार थान हेडफोन खरिद गर्दा ६५ करोड ९३ लाख रुपैयाँ खर्चिएको विभागले जनाएको छ ।
मोबाइल तस्बिर खिच्न प्रयोग गरिने सेल्फी स्टिक पनि करोडभन्दा माथिको आयात भएको छ । विभागका अनुसार ५१ हजार ९६८ थान सेल्फी स्टिक आयात गर्दा नेपालीले एक करोड २६ लाख खर्च गरेका छन् ।
५० करोडको ट्याब्लेट
विभागका अनुसार मोबाइलसँगै नेपालीहरूले ट्याब्लेट मात्रै ५० करोड रुपैयाँभन्दा माथिको खरिद गरेका छन् । १९ हजार ३९५ थान खरिदमा ५० करोड ६८ लाख रुपैयाँ खर्च भएको विभागले जनाएको छ ।