काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ज्ञानेन्द्र शाहीले कैलालीमा अस्पताल बनाउने भन्दै चर्च बनाइएको भन्दै विरोध जनाएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद शाहीले झुटो विवरण पेस गरेर भवन र गाडी खरिद गरिए पनि पछि त्यहाँ चर्च बनाइएको र स्थानीय विरोधमा उत्रिएको बताएका हुन् ।
‘कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को मनेरामा अस्पताल बनाउन स्थानीय तहबाट अनुमति लिइयो, भवन पनि बनाइयो र गाडी पनि खरिद गरियो, पछि वैदिक सनातन मान्ने मान्छेहरूलाई सैतान भन्दै चर्च बनाइयो, र अहिले त्यहाँ स्थानीयबासीहरू विरोधमा उत्रेका छन्’, उनले भने ।
यस्तै, उनले धर्मका नाममा अरूलाई गाली गर्न नपाइने भन्दै यी र यस्ता काम गर्नेलाई कारबाही गर्नु पर्ने बताए । ‘धर्म मान्न पाइन्छ, सबैको अधिकार हो, तर अर्काको धर्मलाई गाली गर्न पाइँदैन,’ उनले थपे, ‘झुटो विवरण पेस गरेर धर्म, मन्दिर र चर्च बनाउन र विदेशीले धर्म प्रचार गराउन पाइँदैन ।’
उनले धर्म प्रचार गर्न भन्दै दुई जना कोरियन नागरिक नेपालमा बस्दै आएको बताउँदै पक्राउ गरी कारबाही गर्न माग गरे ।