२७ महिनापछि उच्च बिन्दुमा सेयर बजार-Sutra News

२७ महिनापछि उच्च बिन्दुमा सेयर बजार

मंगलबार, ८ साउन २०८१

मंगलबार, ८ साउन २०८१

काठमाडौं । २७ समयपछि सेयर बजारले २५ सयको बिन्दुलाई छोएको छ । लगातार बृद्धिका बीच साताको तेस्रो कारोबार दिन मंगलबार ७५.३३ अंकले बढ्दै बजार २५६३.४३ को बिन्दुमा उक्लिएको हो ।



यसअघि २०७८ चैत २८ मा बजार २५ सयको बिन्दुमाथि थियो । २०७८ माघदेखि बढ्न थालेको बजारले २०७९ भदौ १ मा आइपुग्दा ३२ सयको बिन्दुलाई छोएको थियो । यद्यपि, त्यसयता भने बजार निरन्तर ओरालोमा थियो ।

२७ महिनापछि पहिलो पटक बजार २५ सयको बिन्दुमाथि उक्लिएको हो । यसदिन उल्लासपूर्णरुपमा बजार मात्रै बढेको छैन कारोबार रकम पनि उत्साह जगाउने शैलीमै बढेको छ ।

बेच्नेभन्दा किन्ने बढी देखिएको बजारमा १४ अर्ब ११ करोड बढीको कारोबार भएको छ । मंगलबार तीन करोड ९७ लाख कित्ता सेयर किनबेच हुँदा सो बराबरको कारोबार भएको हो ।

यस दिन कारोबारमा आएका २४२ कम्पनीमध्ये २२० को मूल्य बढ्यो भने ८ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो ।

यस दिन बैंकिङ २.३९, विकास बैंक २.९६, फाइनान्स २.५३, होटल तथा पर्यटन ३.१४, हाइड्रोपावर ३.९७, लगानी ३.८७, जीवन बीमा ४.४५, उत्पादन ३.७७, माइक्रोफाइनान्स १.३९, निर्जीवन बीमा ४.३७, अन्य १.७३ र व्यापार समूह ५.०६ प्रतिशत बढे । होटल तथा पर्यटन समूहको सूचक हालसम्मकै उच्च ६५९१ विन्दुमा पुगेको छ ।

पछिल्लो समय आम लगानीकर्ता उत्साहित हुँदा बजारले आक्रामक रुप लिएको देखिन्छ । बजार बढिरहँदा नयाँ–नयाँ लगानीकर्ता पनि बढिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट