दीपक रौनियारकाे ‘पूजा, सर’ भेनिसमा प्रदर्शन हुँदै-Sutra News

दीपक रौनियारकाे ‘पूजा, सर’ भेनिसमा प्रदर्शन हुँदै

बुधबार, ९ साउन २०८१

बुधबार, ९ साउन २०८१

काठमाडौं । दीपक रौनियारको निर्देशन रहेको फिल्म ‘पूजा, सर’ विश्व प्रसिद्ध भेनिस फिल्म फेस्टिभलमा प्रिमियर हुने भएको छ। यसअघि ‘राजागञ्ज’ रहेको फिल्मको नाम परिवर्नत गरेर ‘पूजा, सर’ राखिएको हो।



फिल्मकी मुख्य कलाकार ऋचा शर्माले भेनिस फिल्म फेस्टिभलमा प्रिमियर हुने कुराको जानकारी सामाजिक सञ्जालबाट दिएकी हुन्। यसका साथै फिल्मका अन्य कलाकार विजय बराल, आशा मगरातीले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत फिल्म भेनिसमा छनोट भएकोमा खुसी साटेका छन्।

फेस्टिभलको ओरिजोन्टी खण्डको प्रतिस्पर्धामा फिल्म छनोट भएको निर्माणपक्षले बताएको छ ।

आगामी भदौ १२ देखि २२ गतेसम्म चल्ने महोत्सवको ८१औँ संस्करणमा फिल्मको छनोटको खबर पाएसँगै यसलाई सुखद यात्राको आरम्भका रुपमा निर्देशक रौनियारले व्याख्या गरेका छन् ।

“अघिल्ला फिल्म झैँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवबाट प्रदर्शनी (वर्ल्ड प्रिमियर) प्ररम्भ हुँदै छ, यसपटक नेपाली निर्मातासँग सहकार्य गरेर बनाएको फिल्मले विश्व चलचित्र मञ्चमा कस्तो यात्रा गर्ला ? यसको प्रतीक्षा मलाई पनि उत्तिकै छ”, निर्देशक रौनियारले भने ।

यसअघि सन् २०१६ मा उनकै ‘ह्वाइट सन’ले यही विधामा छनोट हुने पहिलो नेपाली फिल्मको इतिहास रचेको थियो । गत वर्ष भने फिडेल देवकोटाले निर्देशन गरेको ‘द रेड सुटकेस’ छनोट भएको थियो ।

यो फिल्ममा दयाहाङ राई, निकिता चण्डक, आशा मगराती, आरती मण्डल, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ, नीरज श्रेष्ठ र पशुपति राई अभिनय छ ।

थ्रिलर विधामा बनेको यो फिल्ममा महिला प्रहरी इन्स्पेक्टरको कथा समेटिएको छ। फिल्मलाई विश्व बजारमा प्रदर्शन गरिसकेपछि मात्रै नेपाल प्रदर्शन गर्ने तयारी छ।

जनकपुरमा छायांकन गरिएको यो फिल्ममा सयौं व्यक्तिको अभिनय छ । एकै दिनमा ६ सय बढी व्यक्ति छायांकन सेटमा देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट