उड्ने वित्तिकै दाहिनेतिर मोडिएर खसेको थियो जहाज-Sutra News

उड्ने वित्तिकै दाहिनेतिर मोडिएर खसेको थियो जहाज

बुधबार, ९ साउन २०८१

बुधबार, ९ साउन २०८१

काठमाडौं । सौर्य एयरलाइन्सको एन–एएमई (सीआरजे २००)जहाज दुर्घटना हुँदै गरेको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोअनुसार उडान लिएको केही समयमै जहाज दाहिनेतर्फ मोडिँदै भूइँमा बजारिएको देखिन्छ ।



नागरिक उड्डयन प्राधिकरणले पनि जहाज उड्ने वित्तिकै दाहिने तिर मोडिन गएको जनाएको छ । दाहिने मोडिएको जहाज रनवेको पूर्वतिर गएर भूँइमा बजारिएको थियो ।

प्राधिकरणका एक अधिकारीले जनाएअनुसार भूँइमा बजारिएको जहाजको ककपीट एयर डाइनेस्टीको कन्टेनरमा ठोक्किन पुगेको थियो । एक भाग ठोक्किएको कन्टेनरमा अड्किएको थियो भने अर्को भाग उछिट्टिँदै पर पुगेर ठूलो आगलागी भएको थियो ।

जहाजले कन्टेनरलाई हानेर टुक्रा–टुक्रा हुँदै विस्फोट भएको थियो ।

जहाज बुधबार बिहान ११ः११ बजे काठमाडौंबाट पोखराका लागि उडेको थियो । लगत्तै जहाज दुर्घटनामा परेको थियो ।

प्राधिविक समस्या देखिएको जहाजलाई मर्मतका लागि पोखरा लगिँदै थियो । जहाजमा चालक दलका सदस्यसहित सौर्य एयरलाइन्सकै प्राविधिक कर्मचारी थिए ।

जहाजमा सवार १९ यात्रुमध्ये क्याप्टेन मनिषरत्न शाक्य मात्रै जिवित छन् । घाइते शाक्यको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार चलिरहेको छ ।

नेपाल प्रहरीले जनाएअनुसार जहाज दुर्घटना हुँदा १९ यात्रुमध्ये १५ जनाको दुर्घटनास्थलमै ज्यान गएको थियो भने तीन जनाको उपचारका क्रममा टिचिङ्ग अस्पतालमा ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट