लगातार वृद्धिका बिच किन घट्यो सेयर बजार ?-Sutra News

लगातार वृद्धिका बिच किन घट्यो सेयर बजार ?

बुधबार, ९ साउन २०८१

बुधबार, ९ साउन २०८१

काठमाडौं । केही दिनदेखि लगातार वृद्धि भइरहेको सेयर बजारमा बुधवार उच्च अंकले गिरावट आयो । यस दिन २७.३२ अंकले घट्दै बजार २५३६.११ को बिन्दुमा झरेको छ । समग्रमा बजार १.०६ प्रतिशतले घटेको छ ।



केही सातादेखि नै निरन्तर जसो उत्साहपूर्ण उकालोमा रहेको सेयर बजारमा बुधवारको सुरुवाती कारोबार पनि उत्साहपूर्ण थियो । बजारले कारोबार सुरु भएको आधा घण्टा ११ः२६ मै २६०० को बिन्दुलाई छोएको थियो ।

यद्यपि, त्यसयता भने बजार क्रमिकरूपमा ओरालोमा देखियो । क्रमिक ओरालोमा रहेको बजार १ः५० बजेसम्म आइपुग्दा २५१३ को बिन्दुमा झरेको थियो ।

त्यसयता भने क्रमशः बजार सम्मालिन खोज्यो । डेढ घण्टाको कारोबारमा आएको सुधारको परिणाम बजार २५३६.११ को बिन्दुमा उक्लिएर अडियो ।

उच्च अंकले घटेको बजारमा यस दिन कारोबार रकम भने तीन वर्ष यताकै उच्च भएको छ । ४ करोड ७ लाख ४७ हजार कित्ता सेयर किनबेच हुँदा बुधवार कारोबार रकम १६ अर्ब २० करोड ८५ लाख रुपैयाँ बराबरको भयो । यसअघि २०७८ भदौ ३ मा मात्रै २० अर्ब रुपैयाँभन्दा माथिको कारोबार भएको थियो ।

यस दिन दुई वटा समूहका मात्रै सूचक बढेका छन् । फाइनान्स र होटेलको इन्डेक्समा सामान्य वृद्धि हुँदा बाँकी सबै सूचक घटे ।

कारोबारमा आएका २४२ कम्पनीमध्ये १९४ कम्पनीको मूल्य घट्यो भने ४६ कम्पनीको मूल्य बढ्यो । बजार घटे पनि यस दिन तीन वटा कम्पनीको मूल्य सकारात्मक सर्किट लेबलमा बढे ।

लगातार बढिरहेको बजारमा नयाँ लगानीकर्ताहरू दिनदिनै भित्रिएका छन् । सँगै चलाख लगानीकर्ता फाइदालाई छोप्न पनि सफल भइरहेका छन् । बुधवार कारोबार बढ्नु बजार र घट्नुको पछाडि लगानीकर्ता नाफा बुक गर्न हौसिँदा परिणाम भएको पाइन्छ ।

विशेषगरी उच्च कारोबार भएका कम्पनीमा किन्नेभन्दा बेच्ने धेरै देखिएका थिए । यसअघि मंगलबार उच्च अंकले बढेको बजारमा बेच्नेभन्दा किन्ने धेरै थिए । तर, त्यसको ठिक उल्टो बेच्ने बढी झुम्मिँदा समग्र बजार घटेको देखिन्छ ।

केन्द्रीय बैंक आगामी शुक्रवार मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा छ । यसअघि रोकिएको मौद्रिक नीतिलाई सार्वजनिक गर्ने तयारी भइरहँदा मौद्रिक नीतिले बजारलाई अप्ठ्यारो पार्न सक्ने संशय लगानीकर्तामा देखिएको छ । उक्त संशयका बिच लगानीकर्ता नाफा बुक गर्न हौसिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट