सत्ता गुमाएको माओवादीमा चर्किन थाल्यो आन्तरिक विवाद-Sutra News

सत्ता गुमाएको माओवादीमा चर्किन थाल्यो आन्तरिक विवाद

बुधबार, ९ साउन २०८१

बुधबार, ९ साउन २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र)भित्रको आन्तरिक विवाद फेरि सतहमै देखिन थालेको छ । पार्टीभित्रको भूमिकालाई लिएर शीर्ष नेताबीच विवाद बढेको हो । जुन सार्वजनिक मञ्चमा समेत देखिन थालेको छ ।



सत्तामा रहँदा मुख्य नेतृत्व नै महत्वपूर्ण जिम्मेवारीमा रहेसँगै विवाद देखिएको थिएन । सरकारको जिम्मेवारीमा रहँदा नेताहरुले पार्टीभित्रको भागवण्डाका विषयमा बोलेका थिएनन् ।

नेताहरु सरकारमा हुँदा पार्टी गतिविधिसमेत रोकिएको थियो । तर, सरकारबाट बाहिरिएसँगै विशेषगरी माओवादीभित्र गुटगत कित्ता चलमलाउन थालेको छ ।

पार्टीभित्रको जिम्मेवारीलाई उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनले असन्तुष्टि जाहेर गरिरहेकै बखत वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि असन्तुष्टि जाहेर गर्न थालेका छन् । उनले आफ्नो समूह (पूर्वएकता केन्द्र)लाई पार्टीभित्र अप्ठ्यारो पारिएको भन्दै असन्तुष्टि पोख्न थालेका छन् ।

सरकारबाट बाहिरिएसँगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष श्रेष्ठबीच भेटवार्ता भएको थियो । प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा नेताहरुबीच भनाभनकै तहमा विवाद भएको बताइएको छ । उक्त भेटमा प्रचण्डले उपाध्यक्ष श्रेष्ठलाई पार्टी नै छाडेर जान चुनौतिसमेत दिएका थिए ।

दुईबीचको भनाभनबारे पार्टीभित्रै चर्चा भइरहँदा बुधबार सार्वजनिक मिडियामै देखिने गरी सभ्य भाषामा दुई नेताबीच चर्काचर्की भएको छ । खुमलटारको कोठामा पार्टी छाड्न चुनौति दिएका प्रचण्डलाई श्रेष्ठले सार्वजनिकरुपमै नेतृत्व छाड्न चुनौति दिएका छन् । प्रचण्डले नेतृत्व छाडे आफू तयार भएको जनाउ श्रेष्ठको छ ।

“अध्यक्ष कमरेडले ३५ वर्ष मैंले पार्टीको अध्यक्षता गरेँ, मैंले मात्रै कति जिम्मेवारी लिने भनेर हामीमध्ये कोहीलाई तपाईंहरु अब चलाउनुस् भनेर कुनैदिन भनेको स्थितिमा हामी चलाउन तयार हुनुपर्छ”, श्रेष्ठले चुनौतिपूर्ण शैलीमा भनेका छन् ।

यद्यपि, प्रचण्डले भने श्रेष्ठको चुनौतिलाई टालेटुले पारामा जवाफ दिएका छन् । साथै, उनले नेतृत्वमा आफ्नो विकल्प प्रस्तुत नभइसकेको शैलीमा जवाफ फर्काएका छन् ।

“राजनीतिकरूपमा राम्रो आधार बनेको छ अब त्यसलाई सङ्गठनमा बदल्नुपर्ने अवसर प्राप्त भएको छ, अव मेरो पहल पार्टीलाई एकताबद्ध र नीति कार्यक्रम जनमुखी बनाउनेमा हुनेछ”, प्रचण्डले जवाफी शैलीमा भनेका छन् ।

पार्टी महाविधेशनदेखि नै सुरु भएको विवाद सत्तामा पुग्दा थामिएको थियो । यद्यपि, सत्ताबाट बिमुख बनेसँगै भने शीर्ष नेताहरु पुरानै विवादमा फर्किएका छन् । विशेषगरी शीर्ष नेताहरुको सक्रियतालाई हेर्दा, पार्टी विभाजन उन्मुख त होइन भन्ने आधार पनि देखिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट