रुसले आफ्नो देशमा प्रतिबन्ध लगायो जापानी व्यापारीलाई-Sutra News

रुसले आफ्नो देशमा प्रतिबन्ध लगायो जापानी व्यापारीलाई

बुधबार, ९ साउन २०८१

बुधबार, ९ साउन २०८१

काठमाडौं । टोकियोले बुधबार टोयोटाका प्रमुखलगायत अन्य १२ जना वरिष्ठ जापानी व्यापारीलाई देशमा प्रवेश गर्न प्रतिबन्ध लगाउने रूसको निर्णयको विरोध गरेको छ ।



रूसी विदेश मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको प्रतिबन्ध सूचीमा टोयोटाका अध्यक्ष अकिओ टोयोडा, राकुटेन प्रमुख हिरोशी मिकितानी र सरकार समर्थित जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सीका अध्यक्ष अकिहिको तनाकाको नाम समावेश रहेको छ ।

“जापानले विशेष सैन्य अपरेशनको सम्बन्धमा हाम्रो देशविरुद्ध जारी गरेको प्रतिबन्धहरूको प्रतिक्रियामा यो निर्णय गरिएको हो,” रूसी विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

रूसले मित्सुबिशी, होन्डा र सोनीजस्ता प्रमुख जापानी कम्पनीका प्रमुखको नाम समावेश नभएको उक्त सूचीका लागि व्यक्तिहरू कसरी छानिए भनेर व्याख्या गरेको छैन ।

जापानले किएभलाई आर्थिक र भौतिक समर्थन प्रदान गरेको छ भने रूसी व्यक्ति र संस्थाहरूलाई प्रतिबन्ध लगाएको छ ।

जापानको संविधानले हतियार निर्यात गर्न प्रतिबन्ध लगाएको छ । तर डिसेम्बरमा टोकियोले घरेलु रूपमा निर्माण गरिएको प्याट्रियट मिसाइलहरू संयुक्त राज्य अमेरिकामा निर्यात गर्न आफ्नो हतियार निर्यात नियन्त्रणलाई खुकुलो बनाएको थियो ।

युक्रेनमा आपूर्ति गरिएका कारण अमेरिकामा कम भएका हवाई रक्षा मिसाइलको सङ्ख्या बढाउने उद्देश्यले जापानले यो कदम चालेको थियो ।

“रूसको यस घोषणाले जापानी कम्पनीहरूको निष्पक्ष गतिविधिलाई प्रतिबन्धित गर्नेछ जुन पूर्ण रूपमा अस्वीकार्य छ,” जापानी सरकारका प्रवक्ता योशिमासा हयासीले भने ।

“रुस–युक्रेन द्वन्द्वका कारण हामीमा लगाइएका प्रतिबन्ध अन्तर्राष्ट्रिय कानूनको स्पष्ट रूपमा उल्लङ्घन हो,” उनले भने । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट