काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ ।
बुधबार बिहान ११ बजेर ११ मिनेटमा पोखरा जान उडेको जहाज दुर्घटनामा परेको थियो । दुई चालक दलका सदस्यसहित जहाजमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको थियो ।
पाइलट शाक्यलाई सकुशल उद्धार गरिएको थियो । उद्धारपछि उनलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएको थियो । उनको ढाडको हड्डी दुई ठाउँमा भाँचिएको बताइएको छ । अहिले उनलाई केएमसीको न्यूरो सर्जरी आईसीयुमा राखिएको छ ।
बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले पाइलट शाक्यलाई भेटेका थिए । यस क्रममा प्रधानमन्त्रीले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । प्रधानमन्त्री ओलीले पाइलट शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी दिएका थिए ।