८१ वर्षको उमेरमा सौर्य एयरलाइन्सको प्रस्ताव अस्वीकार गर्न नसक्दा…-Sutra News

८१ वर्षको उमेरमा सौर्य एयरलाइन्सको प्रस्ताव अस्वीकार गर्न नसक्दा…

बिहिबार, १० साउन २०८१

बिहिबार, १० साउन २०८१

काठमाडौं । बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाए । घटना पाइलट मनिषरत्न शाक्यको सकुशल उद्धार गर्न सकियो ।



दुर्घटनामा ललितपुरको बखुण्डोलका ८१ वर्षीय श्याम बिन्दुकार बिहान साढे ९ बजेतिर आफै गाडी हाँकेर विमानस्थल पुगे । विमान मर्मतको काममा करिब पाँच दशक अनुभव बटुलेका उनले डेढ वर्षअघि अवकाश लिइसकेका थिए ।

सौर्य एयरलाइन्सले उनको विज्ञता र अनुभवको साथमा जहाज मर्मत गर्न भन्दै पोखरा लैजान लागेको उनको परिवारले जानकारी दिए । उनी सौर्य एयरलाइन्स कम्पनीले पोखरा जान आग्रह गरेपछि उनी टोलीसँगै पोखरा जान तयार भएका थिए ।

उनलाई विमानस्थलसम्म जेठा छोरा रमेश बिन्दुकारले छाडेका थिए । विमानस्थलमा नै काम गर्ने कान्छा छोरा सुरेश बिन्दुकारले औषधि र फोन चार्जर छ कि छैन भनेर सोध्न भ्याए । छोराहरूसँग राम्रोसँग बिधाई भएका श्याम चढेको विमान केहीबेरमा नै दुर्घटना हुन पुग्यो ।

दाइ रमेश घर पुगेको केही समयमै भाइ सुरेशले फोन गरेर भने, ‘बुवा चढेको विमान दुर्घटनामा पर्‍यो ।’ आफैले छाडेर आएको बुवाको मृत्यु भएको कुरा पत्याउन रमेशलाई गाह्रो परेको थियो ।

८१ वर्षको उमेरमा श्याम बिन्दुकारले सौर्य एयरलाइन्सको आग्रह नकार्न सकेनन् । विमान बनाउने विज्ञता हासिल गरेका उनी ‘सी चेक’का लागि एयरलाइन्ससँग सम्झौता गरेर काम गर्न तयार भएको उनका कान्छा छोरा सुरेश बताउँछन् ।

विमानमा चढेका अधिकांश यात्रु सौर्य एयरलाइन्सका प्राविधिक र कर्मचारी थिए । उनीहरूको मृत्यु भएसँगै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आफन्तहरू शवको पर्खाइमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट