कस्तो छ क्याप्टेन मनिष शाक्यको स्वास्थ्य अवस्था ?-Sutra News

कस्तो छ क्याप्टेन मनिष शाक्यको स्वास्थ्य अवस्था ?

बिहिबार, १० साउन २०८१

बिहिबार, १० साउन २०८१

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा जिवितै उद्धार हुन सफल क्याप्टेन मनिष रत्न शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उपचाररत काठमाडौंस्थित मेडिकल कलेज (के.एम.सी.) सिनामंगलले जनाएको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालले शाक्यको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको थियो ।



अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार शाक्यको सघन कक्षमा उपचार चलिरहेको छ । उनको अवस्था सामान्य रहेको र जटिलताहरु नदेखिएको अस्पतालले जनाएको छ ।

“हाल उहाँ (क्याप्टेन मनिष रत्न शाक्य)को अवस्था सामान्य रहेको तथा अन्य जटिलताहरु नदेखिएको जानकारी गराउँछौं”, बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालले भनेको छ ।

अस्पतालका अनुसार शाक्यको अनुहार, आँखा, नाक तथा टाउकोमा थुप्रै चोटहरु लागेका छन् । ढाडको हड्डीको साथै देव्रे पट्टिका तीन वटा करङ्गहरु भाँचिएका छन् ।

जनाएअनुसार अनुहार र नाक र आँखाका चोटहरुको बुधबार नै उपचार भइसकेको छ । बाँकी उपचार चलिरहेको अस्पतालले जनाएको छ ।

अस्पतालकी निर्देशक प्रा. डा. मीना थापाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “उहाँको अनुहार, आँखा, नाक तथा टाउकोमा चोटहरु, ढाडको एउटा हड्डी साथै, देव्रै पट्टिको तीन वटा करङ्गहरु भाँचिएका छन् । अनुहार तथा नाक आँखाको चोटहरु हिजै उपचार भइसकेको जानकारी गराउँदछौं”, विज्ञप्तिमा भनिएको छ ।

बुधबार बिहान ११ः११ मा पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रै दुर्घटनामा परेकाे थियो । उक्त दुर्घटनामा विमानमा सवार १९ यात्रुमध्ये १८ काे मृत्यु भएकाे छ भने पाइलट शाक्यको घाइते अवस्थामा उद्धार गरेर केएमसी अस्पतालमा ११ः३० मा पुर्‍याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट