भुवन केसीले बोर्डबाट बिदाइ हुँदै भने- सरकारको चलचित्र क्षेत्रमा लगानी शुन्य छ-Sutra News

भुवन केसीले बोर्डबाट बिदाइ हुँदै भने- सरकारको चलचित्र क्षेत्रमा लगानी शुन्य छ

बिहिबार, १० साउन २०८१

बिहिबार, १० साउन २०८१

काठमाडौं । नेपाल चलचित्र विकास बोर्डबाट अभिनेता भुवन केसी बिदा भएका छन् । २०७९ साउन ९ गते बोर्ड अध्यक्षको रूपमा दुई वर्षको कार्यकाल पूरा गर्दै उनी मंगलबार सकिएसँगै बोर्डबाट बिदा भएका हुन् ।



बिहीबार बोर्डको हलमा आयोजित समारोहमा मायाको चिनो प्रदान गर्दै उनको बिदाइ गरिएको थियो । सो अवसरमा दुई वर्षे कार्यकालका मुख्य उपलब्धिहरू समेटिएको पुस्तकसमेत विमोचन गरियो । कार्यक्रममा बोर्डका निवर्तमान अध्यक्ष तथा अभिनेता भुवन केसीले फिल्म क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताए ।

बोर्डमा आयोजित बिदाइ कार्यक्रममा अध्यक्ष केसीले दुई वर्षे कार्यकालमा आफूले थुप्रै काम गर्ने कोशिस गरेको बताउँदै केही भावुक र केही आक्रोशित सुनिए । उनले सरकारले आश्वासन मात्र दिएको गुनासो गर्दै नेपाली फिल्म क्षेत्रका लागि नेताहरूले भाषणबाहेक केही गर्न नसकेको बताए ।

‘नेपाली फिल्म क्षेत्र यहाँसम्म आइपुग्दा सरकारले चाहिँ के गर्यो त ? नेपाली फिल्म क्षेत्रले यहाँसम्म आइपुग्नुको योगदान सरकारको योगदान शून्यजस्तो लाग्छ । फिल्म क्षेत्र यहाँसम्म आइपुग्नुलाई सरकारको महत्व प्रभावकारी छैन् । यदि सरकारले चाहेको भए फिल्म क्षेत्र आज विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्न सक्थ्यौं, अहिले पनि गरिरहेका छौं । तर त्यसका लागि केही निर्माता, कलाकार, निर्देशकहरुले घर–खेत बेचेर यो क्षेत्रलाई यहाँसम्म ल्याएका हुन्, केसीले गुनासो गरे ।

विशेषगरि, फिल्म क्षेत्रका लागि सरकारले कुनै पनि लगानी नगरेको भन्दै उनको आक्रोश थियो । कार्यक्रममा अध्यक्ष केसीले आफ्नो दुई वर्षे कार्यकालमा ‘काभ्रेको बनेपामा आधुनिक फिल्म स्टुडियो निर्माण प्रक्रिया आरम्भ गरेको, बक्स अफिस प्रणालीको कार्यान्वयन गरेको, दोलखा फिल्म सिटीको अवधारणा अघि सारेको, स्टोरी बैंकमार्फत मौलिक फिल्म निर्माणमा प्रोत्साहन गरेको जानकारी दिए ।

यस्तै, उनले फिल्मीकर्मीहरु लाई सम्मान, विशेष चलचित्र पुरस्कारको घोषणा, चलचित्र सम्बन्धी बिषयमा अध्ययन अनुसन्धान एवं विद्वत्वृत्तिमा प्रोत्साहन गरेको, चलचित्रकर्मीहरुको दक्षता अभिबृद्धि कार्यक्रम आयोजना गरेको, चलचित्रकर्मी कल्याणकोष संचालन अघि बढाएको, चलचित्रकर्मीहरुको छायांकन अवधिको दुर्घटना बीमा कार्यक्रमलाई निरन्तरता दिएको उल्लेख गरेका छन् ।

साथै, आफ्नो कार्यकालमा बोर्डले ‘बाल चलचित्र निर्माण प्रशिक्षण कार्यक्रम, विशिष्ट श्रेणीका चलचित्रकर्मीहरुको स्वास्थ्य बीमा कार्यक्रम, नेपाली चलचित्रकर्मीहरुलाई अन्तराष्ट्रिय स्तरमा आयोजना हुने कार्यक्रममा सहभागिताका लागि प्रोत्साहन, नेपाली चलचित्रको अन्तराष्ट्रिय प्रवर्द्धन र विकास, घुम्ती सिनेमा तथा सिनेमा साक्षात्कार कार्यक्रम, लघु चलचित्र प्रतियोगिता, सांकृतिक रुपान्तरण सम्मान तथा पुरस्कार, अन्तराष्ट्रिय नारी दिवसको अवसरमा महिला चलचित्रकर्मीलाई सम्मान, चलचित्र विकास बोर्डको नारा र धुन निर्माण, राष्ट्रिय चलचित्र दिवस तथा चलचित्र क्षेत्रको नामाकरण लगायतको काम गरेको उल्लेख गरेका छन् ।

यस्तै, विकास बोर्डले आफ्नो कार्यकालमा नीतिगत, कानूनी र संरचनात्मक उपलब्धि पनि हासिल गरेको अध्यक्ष केसीको भनाई थियो । केसीले विकास बोर्डबाट आफू बाहिरिए पनि नेपाली फिल्म क्षेत्रको विकास र विस्तारमा सधैं लागिपर्ने बाचा गरे ।

उनले सरकारप्रति आक्रोश समेत व्यक्त गर्दै भने, ‘निर्माता-निर्देशकहरुले जग्गा जमिन बेचेर यो क्षेत्रलाई यो स्थानसम्म ल्याएका छन् । सरकारले यो क्षेत्रका लागि यो गर्यौँ भनेर भाषण गर्ने ठाउँ छैन । एउटा फिल्म स्टुडियो समेत सरकारले बनाउन सकेको छैन । राष्ट्रिय चलचित्र उद्योगलाई प्राथमिकतामा राखेर हामीले काम गर्ने कोशिश गर्यौँ । तर, सरकारले सुन्छ मात्र कार्यान्वयन गर्दैन ।’

उनले सरकारले नसुनेपछि विकास बोर्डबाटै केही गर्न सकिन्छ कि भनेर आफू अध्यक्ष पदमा आएको तर्क गरे । अगाडि भने–‘कति साथीहरूले मबाट उल्लेखनीय काम भएन भन्नुहुन्छ । ममाथि अपेक्षा पनि धेरै थियो । तर, विकास बोर्डमा आएपछि थाहा भयो कि, चलचित्र विकास बोर्डमा थोरै मात्र अधिकार छन् । अझै पनि वि.सं २०२६ सालको ऐनमा चलचित्र क्षेत्र चलिरहेको छ ।’

‘यो ऐनलाई परिवर्तन गरेर नयाँ ऐन पास गर्नुपर्छ भनेर म लागिपरेँ । तर, जति गर्दा पनि मन्त्रालयमा नै ऐन रोकिन्छ । हामीले गर्ने त प्रयास नै हो । मैले, यहाँ आएर ऐन पास गर्ने कोशिश गरे । अहिले संचार मन्त्रालयबाट अर्थ मन्त्रालयसम्म ऐन पुगेको छ । यतिसम्म हामीले प्रयास गर्यौं,’ उनले थपे ।

अध्यक्ष केसीले सरकारले चाहेको खण्डमा चाँडै नै ऐन पास हुने बताए । उनले, बोर्डले पाएको अधिकार भित्र रहेर सबै काम आफूले गरेको बताए । ‘एउटा स्टुडियो बनाउन सकेको छैन । तर सबै कलाकारहरूले मन्त्रीहरूलाई सुझाव सल्लाह दिएका हौं । तर त्यो कुरा कुनै मन्त्रीले उठाउन सकेनन्, उनको भनाइ छ ।

यस्तै केसीले कुनै स्वार्थमा अध्यक्ष नबनेको दावी गर्दै अबको दिनमा जे–जस्तो अवस्थामा भएपनि नेपाली फिल्मलाई अगाडि बढाउन सधैँ तत्पर रहनेसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट