हल्लाबिना हलमा पुग्दा पहिलो दिनमै ‘ईश्वर’ र ‘ब्ल्याक छाया’को हरिबिजोग !-Sutra News

हल्लाबिना हलमा पुग्दा पहिलो दिनमै ‘ईश्वर’ र ‘ब्ल्याक छाया’को हरिबिजोग !

शुक्रबार, ११ साउन २०८१

शुक्रबार, ११ साउन २०८१

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज शुक्रबारदेखि दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । जसमा फिल्म ‘ईश्वर’ र ‘ब्ल्याक छाया’ प्रदर्शनमा आएका हुन् ।



व्यावसायिक प्रदर्शन सुरु गरेका यी फिल्मलाई हलले दिएको शोज बाँडफाँडको आँकडा हेर्दा दुवै फिल्मको आगामी यात्रा सुखद मान्न नसकिने देखिन्छ । रिलिज भएका यी दुई फिल्म दर्शकका लागि गन्तीमै छैनन् भन्दा फरक पर्दैन ।

फिल्म ‘ईश्वर’लाई मल्टीप्लेक्सहरुमा न्यून शोज पाएको छ भने अर्को फिल्म मल्टीप्लेक्समा शो नै पाएको छैन । सोहीअनुरुप प्रचार प्रसारबिना रिलिज भएकाले ‘ईश्वर’ले मल्टिप्लेक्स हलमा देखिने सिंगल स्क्रिनमा समेत न्यून शो पाएको छ ।

देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले यो फिल्मलाई देशभर ९ शो दिएको छ । यस्तै, अन्य हलले फिल्मलाई एक-एक शो दिएका छन् । बिहानी शोमा दर्शक नआउँदा केही हलका शोहरु रद्द भइसकेका छन्।

राजु गिरीले निर्देशन गरेको यो फिल्मले अन्तर जातीय प्रेम सम्बन्धको आयामलाई मियो बनाएर कथावाचन गरिएको छ । फिल्ममा अनु शाह, पृथ्वीराज प्रसाईं, सुनिल थापा, शिशिर वाङ्गदेल, माओत्से गुरुङ, रविन्द्र झा, बुद्धि तामाङ, ध्रुव थापा, कृष्टि गुरुङ, सुविन बाँस्तोला, युवराज गिरी लगायतको अभिनय छ ।

यता पारिवारिक, सामाजिक र प्रेमकथा समेटिएको फिल्म ‘ब्ल्याक छाया’ प्रदर्शन गर्न भन्दा चलाउन कठिन देखिएको छ । यो फिल्म सीमित हलमा मात्र लागेको छ ।

आरएल लामा मोक्तान निर्देशित यो फिल्ममा जान्ह्वी बस्नेत, नीर शाह, बुद्धि तामाङ, सलोन बस्नेत, धीरेन शाक्य, शोभित बस्नेत, रवीन्द्र झा, सुनिल थापा लगायतको अभिनय छ । यो फिल्म पनि हल्ला बिना नै हलमा पुगेको छ । निर्माणपक्षले फिल्मको विषयमा दर्शकलाई जानकारी गराउन समेत आवश्यक नठानेको देखिन्छ ।

प्रचार प्रसार भयो त्यति फिल्मप्रति दर्शले चासो देखाउँछन् । त्यतिमात्र हैन कतिपय फिल्म हलले प्रचार प्रसार नभएकाले सोचेअनुरूप शोज नदिएका उदाहरण छन् । त्यहीअनुरुप धेरै जसो हलले सीमित शोमा राखिदिएका छन् ।

यसरी बिना प्रचार हलमा फिल्म लगाउँदा दर्शकले फिल्म चलेको थाहा नपाउने स्थिति हुन्छ । यस कुरामा निर्माताले ध्यान दिएनन् । यसरी प्रचारबिना हलमा फिल्म लगाएर निर्माताले फाइदा लिन सक्ने अवस्था देखिँदैन । हुन त, दर्शकका लागि आकर्षण गर्न निःशुल्क प्रचार गरिएका टिजर, ट्रेलर र गीत नै नहेरेका दर्शकले कसरी पैसा तिरेर फिल्म हेर्छन् ? भन्ने पनि हो ।

प्रचार प्रसार नभएर हलमा शो नपाउँदा फिल्म नचलेर पोस्टरको पैसा पनि नउठाउन सक्ने स्थिति बन्ने देखिन्छ । प्रमोसन नहुँदा व्यवसायिक रुपमा असर पर्छ । फिल्मको प्रमोसन राम्रो नहुँदा हलमा दर्शक कम आउँछन् । त्यही कारण फिल्मले लगानी उठाउन कठिन देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट