ओली सत्तामा पुगेसँगै माधवलाई पार्टी जोगाउने चिन्ता-Sutra News

ओली सत्तामा पुगेसँगै माधवलाई पार्टी जोगाउने चिन्ता

शुक्रबार, ११ साउन २०८१

शुक्रबार, ११ साउन २०८१

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर संयुक्त सरकार बनेपछि प्रतिपक्षी कित्तामा धकेलिन पुगेको नेकपा (एकीकृत समाजवादी)भित्र पार्टी विभाजनको त्रास देखिएको छ । पार्टी गठनदेखि नै विभाजनको चर्चा चलेको एकीकृत समाजवादीमा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले लिएसँगै यस्तो त्रास चुलिएको हो ।



बिहीबारदेखि पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा सुरु भएको केन्द्रिय समिति बैठकमा विशेषगरी पार्टी जोगाउने चिन्ताबारे चर्चा भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधनकै क्रममा पूर्ण सतर्कता अपनाउने अवस्था आएको बताएका छन् ।

“हाम्राविरुद्धमा अनेकौं किसिमका षड्यन्त्रका तानाबानाहरू बुनिँदैछन् भन्नेकुरा पनि सुन्नमा आइरहेको छ, कति सत्य हो, कति असत्य हो ? थाहा छैन”, केन्द्रीय समिति बैठकलाई सम्बोधनका क्रममा अध्यक्ष नेपालले भनेका छन्, “तर, कति सत्य हुन्, कति असत्य हुन् भनेर पनि हुँदो रहेनछ, त्यस आधारमा आफ्नो तर्फबाट पूर्ण सतर्कता अपनाउनुपर्छ ।”

यसअघि पनि अध्यक्ष नेपालले आफ्नो पार्टी फुटाउन ओली लागि परेको आरोप लगाएका थिए । सरकारको नेतृत्वमा ओली गएको खण्डमा आफ्नो पार्टीका निम्ति जोखिम भएको कुरा उनले बताउँदै आएका थिए ।

केही दिन अघिमात्रै एकीकृत समाजवादीका असन्तुष्ट सांसदहरूले प्रधानमन्त्री ओलीलाई भेटेको विषय बाहिरिएको थियो । बताइएअनुसार उनीहरुले पार्टी विभाजनका लागि कानुनी सहजता बनाइदिन ओलीलाई आग्रह गरेका थिए ।

पार्टीको महाधिवेशनदेखि नै आफू जिम्मेवारीमा नरहेको सार्वजनिक घोषणा गरेका सांसद प्रेम आले र सांसद किसान श्रेष्ठको नेतृत्वमा सांसदहरु प्रधानमन्त्री ओलीलाई भेट्न पुगेको बताइएको छ । एमाले स्रोतले बताएअनुसार आले र श्रेष्ठसँगै चार सांसद पार्टी विभाजनको पक्षमा उभिएका छन् ।

दलले राष्ट्रिय मान्यता नपाएको र सांसद स्वतन्त्र हैसियत भएको भनिएपनि पार्टी विभाजनको सन्दर्भमा कानुनी विषय अन्योलपूर्ण छ । जसको सहजता मिलाउन एकीकृत समाजवादीका सांसदहरुले ओलीलाई आग्रह गरेका हुन् ।

बताइएअनुसार जसको लागि उनीहरुले वर्षे अधिवेशन अन्त्य गर्दै अध्यादेशमार्फत विभाजनको बाटो खोलिदिन आग्रह गरेका छन् । यद्यपि, एकीकृत समाजवादी विभाजन गर्ने सन्दर्भमा नेपाली कांग्रेस सकारात्मक छैन । लामो समयदेखि आफूलाई सघाउँदै आएका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई अप्ठ्यारो पार्न नहुने पक्षमा कांग्रेस सभापति शेरबहादुर देउवा देखिन्छन् ।

परमादेशमार्फत सभापति देउवालाई प्रधानमन्त्री बनाउन तत्कालिन समय अध्यक्ष नेपालले भूमिका खेलेका थिए । पछिल्लो आम निर्वाचनपछि पनि अध्यक्ष नेपाल कांग्रेस–माओवादी गठबन्धनकै पक्षमा थिए ।

तथापि, सत्ता सहकार्यमा रहेका देउवालाई ओलीले प्रभावित बनाएर अध्यादेश ल्याउन सक्ने सम्भावना अधिक छ । अहिले ओली एकातिर संसदमा एमालेलाई पहिलो पार्टी बनाउनतर्फ उद्धत देखिन्छन् भने अर्कोतिर ‘मिसन ८४’को तयारीमा छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र विभाजित एकीकृत समाजवादीलाई समेटेर कांग्रेसलाई दोस्रो दल बनाउने ध्याउन्न ओलीको रहेको जानकार बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट