‘नम्बर वान’ नायिकाको रूपमा स्थापित प्रियंका, फेरि म्युजिक भिडियोतिर किन ?-Sutra News

‘नम्बर वान’ नायिकाको रूपमा स्थापित प्रियंका, फेरि म्युजिक भिडियोतिर किन ?

शुक्रबार, ११ साउन २०८१

शुक्रबार, ११ साउन २०८१

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले आधा दशक आफूलाई नेपालको नम्बर एक नायिकाको रूपमा प्रस्तुत गरिन् । प्रियंकाको फिल्ममा उनको अभिनयको चर्चा कम, उनको क्रियाकलापको चर्चा बढी भयो । अझ, यसो भनौँ- उनी गसिप क्वीनकाे रूपमा रमाइन् ।



‘नाई नभन्नु ल, छक्का पन्जा’का सिरिजहरूमा काम गरेर उनले आफूलाई नम्बर एक त बनाइन् तर, आफैले सम्झन योग्य भूमिकामा आफूलाई प्रस्तुत गर्न सकिनन् । यसैले, जसरी उनी उदाइन्, त्यसरी करिअर पनि कमजोर बनाइन् । आमा बनेपछि प्रियंकालाई फिल्ममा भन्दा युट्युबमा बढी देखिन थालिएको छ ।

आमा बनेपछि प्रियंका पछिल्लो समय एकाध फिल्ममा देखिँदै म्युजिक भिडियोमा र रियालिटी शोमा व्यस्त छिन् । तर, विवाहपछि काम पाउन गाह्रो हुन्छ भन्ने नलागेको उनी बताउँछिन् ।

बिहीबार ‘माछी’ बोलको गीत सार्वजनिक गर्न आयोजित कार्यक्रममा आफूले लोक दोहोरी गीतमा काम गर्दिनँ भनेर कहिल्यै नभनेको बताइन् । यस क्रममा उनले फिल्म वा म्युजिक भिडियोका मेकर आफूसँग कुरा गर्न नआउँदै अरूको कुरा सुनेर काम गर्न अप्ठ्यारो छ, उसले त गर्दैन, ऊसँग त समय छैन भनिदिने गरेको गुनासो पोखिन् ।

‘कति धेरै फिल्मको कुराहरू, फिल्मको गीतहरू मसम्म आई नपुग्दै मेरो रेस्पोन्स नसुन्दै हैन उसले त गर्दिनँ, हैन ऊसँग समय छैन रे, उसले त भ्याउँदैन रे, पैसा धेरै लिन्छ रे, अनि ऊसँग त काम गर्न पनि अप्ठ्यारो पर्छ रे, भनेर अरूले नै भनिदिने गरेको धेरैको मुखबाट सुनेको छु,’ उनले भनेकी छिन्, ‘सुन्दा म आफै अचम्ममा पर्छु, किनकि म गीत या फिल्म गर्दिन भन्ने खालको मान्छे नै हैन, म गीत सुन्छु, मेकरलाई भेट्छु, लोक दोहोरी गर्दिनँ भन्ने मान्छे पनि हैन, गीत सङ्गीतमा म कहिले पनि भिन्नता राख्दिनँ, किनकि गीत सङ्गीतमा भनेको जुन भाषा, लवज जे भए पनि मन पराउने मान्छे हो म ।’

आफू निश्चित फिल्ममा सिमित रहन नखोजेको उनले बताइन् । उनका अनुसार कलाकारले सबै खालका भूमिका निर्वाह गर्नुपर्छ । ‘यो खेल्छु र यो खेल्दिनँ भनेर आफूले कहिल्यै भनेको छैन, मैले पहिलादेखि सीमित फिल्म वा गीत मात्र गर्छु भन्ने सोचेको भए म तेस्रो फिल्ममै आमाको भूमिका गर्दिन थिएँ होला, नाइँ नभन्नू ल २’ मेरो करिअरको तेस्रो फिल्म थियो, यसैले म कलालाई यो खेल्छु र यो खेल्दिनँ भनेर हेर्ने मान्छे नै होइन’, उनले भनेकी छिन् ।

फिल्ममा रोल कति लामो छ ? भनेर पनि आफूले नहेर्ने गरेकाे उनले बताइन् । ‘मलाई के विश्वास छ भने ५ मिनेटको रोलले पनि फिल्म खाइदिन सक्छ, फिल्ममा मेरो रोल कति लामो छ भनेर हेर्दिनँ, पहिल्यैदेखि मैले त्यो कहिल्यै हेरिनँ, आफूले आफ्नो क्यारेक्टर र अभिनय राम्रोसँग गर्‍यो भने ५ मिनेट वा १० मिनेटको रोलले पनि फिल्म खाइदिन सक्छ भन्नेमा म विश्वास गर्छु, केलाई प्राथमिकता दिने भन्ने कुरा महत्त्वपूर्ण  हुन्छ’, उनले भनेकी छिन्, ‘कतिले विवाहपछि घर व्यवहार मात्रै सम्हाल्छु भन्ने पनि सोच्नुहुन्छ, त्यो पनि आफैमा एउटा उदाहरण हो, घर सम्हाल्नु सजिलो छैन, तर विवाह र सन्तानपछि पनि कामलाई प्राथमिकता दिन्छु भनेर अगाडि बढ्दा त्यस्तो समस्या आउँछ भन्ने लाग्दैन ।’

यस्तै, फरक प्रसङ्गमा प्रियंका यसपालिको साउनमा नियमित व्रतसमेत बसिरहेको बताएकी छन् । केही घटनाले आफूलाई हनुमानप्रति विश्वास र आस्था बढाएको बताउँदै उनले साउनभरि सोमबार र मङ्गलवार व्रत बस्ने बताइन् ।

‘म ‘विलिभ इनर्जी’मा विश्वास गर्छु, कुनै कुराले मलाई तानिरहेको छ भने प्रयास गरूँ भन्ने भइहाल्छ, यो महिना यस्तै परिरहेको छ’, उनले भनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट